एजेन्सी। रियल सोसिडाडले म्यान्चेस्टर सिटीका पूर्वमिडफिल्डर डेभिड सिल्भालाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्न सफल भएको छ ।
३४ वर्षीय खेलाडीले क्लसँग २ वर्षको करार गरेका छन् । यो आश्चर्यजनक खबर प्रकाशित भएको केही समयमा नै रियल सोसिडाडको वेबसाइट नै क्र्यास भएको थियो । हजारौँ फ्यानहरुले एकै पटक उक्त करारको बारेमा जानकारी लिन वेबसाइटमा लग इन गरेका थिए ।
सिरिए टोली लाजियोले सिल्भालाई अनुबन्ध गर्ने चर्चा चलिरहँदा उनले आश्चर्यजनकरुपमा पुनः स्पेन फर्कने निर्णय गरेका थिए । एक दशक सिटीमा बिताउन अघि उनी भ्यालेन्सियासँग आबद्ध थिए । सोसिडाडमा सिल्भाले २१ नम्बरको जर्सी लगाउनेछन् । गत सिजन उक्त जर्सी नर्वेका अन्तर्राष्ट्रिय मार्टिन ओडेगार्डले लगाउँथे । गत सिजन उनी रियल म्याड्रिडबाट लोनमा सोसिसाड आएका थिए ।
सिटीका लागि ४३६ खेल खेलेका सिल्भालाई क्लबको महत्त्वपूर्ण खेलाडी मानिन्थ्यो । क्लबलाई प्रिमियर लिगको शक्तिशाली टोली बनाउनमा उनको ठूलो योगदान रहेको थियो । १० सिजन बिताएका सिल्भाले सिटीसँग ४ प्रिमियर लिग, दुई एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्डको उपाधि जितेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।