विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्कन सुरु गरेको छ ।
अन्य क्षेत्रमा झै पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि।) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ ।
इमेजिङ नेपाल नामक ट्रेकिङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचनले जानकारी दिए । “सिजनकै सुरुमा यती आरोही आउनु राम्रो सङ्केत हो, कोरोनाको बिचमा पनि केही आरोही आउन थालेका थिए, अहिले हेलिकप्टरबाट समान ढुवानी भइरहेको छ” शेरचनले भने । पश्चिम म्याग्दीको ताकमबाट सामान ढुवानी गर्ने र आरोहीमध्ये अधिकांश पैदलमार्ग हुँदै बेसक्याम्पसम्म पुग्ने गरेका छन् ।
धौलागिरि हिमाल रघुगङ्गा गाउँपालिकाको सिमानासँग जोडिए पनि आरोही भने सिधा बाटो मानिएको मुदीलगायत आसपासका क्षेत्र हुँदै बेसक्याम्प पुग्ने गर्दछन् । छिमेकी जिल्ला मुस्ताङबाटसमेत हिमालमा पुग्न सकिने भए पनि आरोहणका लागि पश्चिम म्याग्दी हुँदै आधार शिविरमा जान सजिलो हुन्छ ।
सन् १९६० मे महिनाको १३ तारिकमा अस्टेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलो पटक धौलागिरिको आरोहण गरेका थिए । कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् ।
आठ हजार मिटर अग्लो धौलागिरि र अन्नपूर्ण हिमाल कालीगण्डकी गल्छीको वारीपारी रहेकाले पनि आरोहण गर्न र अवलोकन गर्नका लागि पर्यटकको रोजाइमा यो स्थल पर्छ । हिमाल आरोहणको राजस्वको हिस्सा भने मुस्किलले म्याग्दीमा आउछ । आरोहीले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहण बापतको रोयल्टी तिर्नुपर्ने हुन्छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित ८ हजार ९१ मिटरको संसारकै दशौं अग्लो अन्नपूर्ण हिमाल अवलोकनका लागिसमेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । त्यस्तै धवलागिरि गाउँपालिकामा रहेको गुर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च बढी भए पनि जिल्लाले त्यसको फाइदा लिन सकेको छैन ।
धवलागिरि गाउँपालिका – १ मा अवस्थित ७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियाली आरोही र उनीहरुका चार नेपाली सहयोगी गरी नौजनाको मृत्यु भएपछि गुर्जामा आरोहीको चहलपहल हुनसकेको छैन् भने म्याग्दीमा रहेका अन्य साना हिमालमा खासै आरोही पुग्दैनन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।