पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।
अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए । “पदमार्गमा असोजदेखि चहलपहल बढेको छ”, उनले भने । मङ्सिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको छ ।
पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।
बेँशीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।