मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यस वर्ष सगरमाथा आरोहणमा सर्वाधिक आरोही

यस वर्ष सगरमाथा आरोहणमा सर्वाधिक आरोही

मेगा खबर संवाददाता

१, बैशाख २०७९
  • 2.1K
    SHARES

  • यस वर्ष सगरमाथा आरोहणमा सर्वाधिक आरोही

    वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ । हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा (८८४८।८६ मिटर) सहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन् । कोभिड–१९ महामारीपछि विस्तारै पर्यटन क्षेत्र तङ्ग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको पर्वतारोहणमा केही उत्साह देखिएको छ । 

    यस याममा विशेषगरी पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आउँछन् । आन्तरिक पर्यटक पनि उत्तिकै सङ्ख्यामा गन्तव्य भ्रमणमा निस्कन्छन् । यतिखेर पर्वतारोहणका मुख्य सिजन पनि भएकाले आरोही उल्लेख्य सङ्ख्यामा आइरहेका हुन् । हिमाल आरोहणका लागि निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ । 

    यस वर्ष (सन् २०२२) को वसन्त याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा आरोही आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३१ आरोही समूहका २५० आरोहीले आरोहण अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति जारी भएको छ । हिमाल आरोहणबाट हालसम्म रु ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको छ ।

    ४५ देशका देशका आरोही  

    सगरमाथा सहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि नेपाल सहित ६५ देशका आरोही धमाधम अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४५ देशका ५६ पुरुष र १९४ गरी कूल २५० आरोही आएका छन् । सगरमाथा हिमालबाट मात्रै रु ३१ करोड बढी रोयल्टी सङ्कलन भएको छ ।

    अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । यो वर्षपनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ । 

    हिमाल आरोहणमा निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ । नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि केही उत्साह थपिएको बताए । ‘अघिल्ला वर्षहरूको तुलनामा त आरोहीको सङ्ख्या कमै देखिएको छ, तर, विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद् कुरा हो । पर्वतारोही विस्तारै बढिरहेका छन्’ उनले भने ।

    सगरमाथामा कति आरोही 
    वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्न सक्ने विभागको अनुमान छ । अप्रिल पहिलो सातादेखि मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ । व्यवसायी शेर्पाका अनुसार विगत वर्षको तुलनामा सगरमाथा आरोहणमा आरोहीको सङ्ख्या घटेको छ ।

    सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुबै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोहीको सङ्ख्या ४०० को हाराहारीमा थियो । एकिन तथ्याङ्क नभएपनि हालसम्म सगरमाथाको करिब ८ हजार आरोहीले आरोहण गरिसकेको बताइएको छ । 

    अहिलेसम्म कामी रिता शेर्पाले सगरमाथाको २५ पटक आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । शेर्पाले सन् २०२१ मा यसअघिको आफ्नै २४ पटकको कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाएका थिए । सेभेन समिट ट्रेक्स प्रालिका प्रवन्ध निर्देशक मिङ्मा शेर्पाले वसन्त यामको आरोहण उत्साहवद्र्धक रहेको बताए । सेभेन समिट ट्रेकबाट मात्रै हालसम्म १५० विदेशी आरोही आरोहणमा गएका छन् ।

    तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ६० जना आरोही छन् । यो कम्पनीबाट अघिल्लो वर्षको वसन्त आरोहणमा १०० विदेशी आरोहीले सगरमाथा आरोहणमा गएका थिए । अबको दुई महिनासम्म आरोही आउने भएकाले यस याममा पर्वतारोहीको सङ्ख्या बढ्ने उनको भनाइ छ । उनले भने, ‘कोभिडपछि राम्रै पिकप लिएको छ । यस वर्षको आरोहण उत्साहवद्र्धक हुने देखिन्छ ।’ यो वर्ष विदेशी आरोही मात्रै ४०० हाराहारीले सगरमाथा आरोहण गर्ने एक्पिडिसन कम्पनीको अनुमान छ ।  

    कुन हिमालमा कति आरोही? 
    यस यामको सगरमाथा आरोहणका लागि स्वदेशी तथा विदेशी आरोही धमाधम आरोहण अनुमति लिएर गन्तव्यतिर निस्किरहेका छन् । अहिलेसम्म सगरमाथा (८८४८।८६ मिटर) आरोहणका लागि मात्रै ३१ समूहका २५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, माउन्ट ल्होत्से (८५१६ मिटर) आरोहणका लागि नौ समूहका ६४ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६८१४ मिटर) आरोहणका लागि ६ समूहका ६५ आरोहीले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ५ समूहका ६१ आरोहीले अनुमति लिएका छन् । नुस्से (७८५५ मिटर) मा ५ समूहका ३८ आरोही छन् । 

    त्यसैगरी अन्नपूर्ण (८०९१ मिटर) आरोहण लागि ४ समूहका २६, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मिलुङ्ग चुलीका लागि दुई, भेम्दोङ्ग, गङ्गापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    बिहिवार, बैशाख १ २०७९०५:५१:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार