काठमाडौं । बिमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी विवाद समाधान भएको छ ।
समितिले गरेको संशोधनमा यसअघि बोरोना बीमा मापदण्डमा उल्लेखित “नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रयोगशाला” भन्ने वाक्यांशलाई हटाएर “नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला” भन्ने वाक्यांश समावेश गरेको छ । यो संशोधन स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने बाटो खोलेको हो ।
बीमा समितिले निजी ल्याबको परीक्षणलाई मान्यता दिए पनि नयाँ बीमालेख जारी गर्ने र पोजेटिभ देखिएकाको भुक्तानी गर्ने प्रक्रियामा भने निकै कडाइ गरेको छ ।
बीमालेख र मापदण्ड संशोधन भएसँगै व्यक्तिगत रुपमा गरिने बीमा बन्द भएको छ । यसअघि व्यक्तिगत तथा सामूहिक रुपमा बीमा गर्ने विकल्प रहेकोमा अब सामूहिक बीमालेख मात्रै जारी हुने भएको हो ।
यसअघि व्यक्तिले चाहेमा १ लाख बराबरको बीमाका लागि १ हजार रुपैयाँ र ५० हजारको बीमाका लागि ५ सय रुपैयाँ प्रिमियम तिरेर एकल बीमा गर्न सकिन्थ्यो । सामूहिक बीमालेखका लागि भने १ लाखको लागि ६ सय रुपैयाँ र ५० हजारको लागि ३ सय रुपैयाँ शुल्क तोकिएको थियो । यो संशोधनपछि कोरोना बीमाको शुल्क एउटै मात्र कायम भएको छ ।
यसअघि कोरोना संक्रमण पोजेटिभ देख्नेबित्तिकै तोकिएको बीमा बराबरको रकम भुक्तानी गर्नेगरी बीमालेख जारी गरिएको थियो । त्यो प्रावधानलाई संशोधन गरेर बीमा समितिले कोरोना पोजेटिभ देखिएमा तत्काल २५ प्रतिशत रकम मात्रै दिने र अस्पताल भर्ना भएमा वा औषधोपचार गर्नुपर्ने भएमा मात्रै सो औषधि उपचारको बिल बमोजिमको थप ७५ प्रतिशत बराबर हुने रकम नबढ्ने गरी भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।