नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहर सङ्कलन सुरु गरिसकेको छ ।
बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट यस वर्ष करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।