काठमाडाैँ, जेठ ३ यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् ।
चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । नेपाल बिग माउण्टेन ट्राभलले बुधबार पत्रकार सम्मेलन गरी चनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो । नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए ।
शुई चो युआन महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ । शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन् ।
शुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाइन् । उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरुले सहयोग गरेकामा धन्यवादसमेत व्यक्त गरिन् । सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तो देखिएको बताउँदै उनले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरुले सँगै फिर्ता ल्याएको जानकारी समेत गराइन् ।
नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन । यसवर्ष सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यसवर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन् । यस वर्षको आरोहण शनिबारदेखि सुरु भएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।