काठमाडौँ, जेठ ९ सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरे ।
उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक (२८ औंपटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।
सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । सोलुखुम्बुको थामे गाउँका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । सबैभन्दा पहिले उनको सगरमाथा आरोहण यात्रा १९९२ मा सपोर्ट स्टाफको रुपमा सुरु भएको थियो ।
हालसम्म उनले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्से लगायतका हिमाल आरोहण गरिसकेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।