फाईल तस्बीर
चितवन । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । आज अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ ।
वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउछन् । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ । उनले भने “नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।”
यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उनले बताए । मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ ।
भट्टराईले भने “दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन । ” धार्मिक, सांस्कृतिक अध्येता डा. गुरुप्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरु गर्न नहुने बताउछन् । उनका अनुसार विशेष संस्कारका कर्महरु, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न हुँदैन ।
मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।