साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् ।
छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् । सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउन क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् ।
उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । “खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ”, उनी भनिछन् । ‘छाउपडी प्रथा अन्त्य गरौँ”, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् । रोकायाले विसं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन् ।
टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो । शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । “साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन”, उनी भन्छिन्, “सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।” मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उनले निन्, “खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।”
एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब रु २५ लाख खर्च लागेको उनले बताइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।