मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अन्नपूर्णको फेरोमा बढे विदेशी पर्यटक

अन्नपूर्णको फेरोमा बढे विदेशी पर्यटक

मेगा खबर संवाददाता

२१, कार्तिक २०८०
  • 1.0K
    SHARES

  • अन्नपूर्णको फेरोमा बढे विदेशी पर्यटक

    गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गत वैशाखदेखि असोजसम्म एक लाख एक हजार एक सय २५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको आयोजनाका प्रमुख डा।रबिन कडरियाले बताए । 

    “कोभिड–१९को महामारीताका सुस्ताएको यहाँको पर्यटनले बिस्तारै पुरानै लय पछ्याउँदै छ”उनले भने,“दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ ।” अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भन्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको प्रमुख डा.कडरियाले बताए ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको उहाँले उल्लेख गरे । “आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य छ”, प्रमुख डा.कडरियाले भने, “नेपालीहरू घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेषगरी युवाहरूमा घुम्ने क्रेज बढ्दो छ ।”

    उनका अनुसार दसैँ र तिहारको बिचमा पदयात्रामा जाने बढी हुन्छन् । कात्तिक महिना लागेपछि १९ गते भित्रमा मात्र १८ हजार दुई सय ९५ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो छ महिनामा सबैभन्दा बढी वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

    गत महिना २८ हजार सात सय पाँच विदेशी पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटक सो क्षेत्रमा पुगेका थिए । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।

    हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पनि अन्नपूर्ण आधार शिविर पुग्नाले यस क्षेत्रको महत्त्व थप चुलिएको छ । त्यस बखत उहाँले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भुत रहेको बताएका थिए ।

    मंगलवार, कार्तिक २१ २०८००३:४५:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार