मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अन्माए आफैंले कन्यादान गरेका छोरीज्वाइँले आमा अम्बिकालाई

अन्माए आफैंले कन्यादान गरेका छोरीज्वाइँले आमा अम्बिकालाई

मेगा खबर संवाददाता

३, मंसिर २०८०
  • 1.4K
    SHARES

  • अन्माए आफैंले कन्यादान गरेका छोरीज्वाइँले आमा अम्बिकालाई

    काठमाडौँ, मङ्सिर ३ गते २० वर्षको उमेरमै जीवन यात्राबाट श्रीमान छुटेपछि अम्बिका एक्लो बनेकी थिइन् । समाजमा कसैले सहाराको हात बढाएका छन् । कसैले वचनवाण हाने। ती सबै सहँदै, व्यहोर्दै उनले जीवनलाई प्रदीप्त तुल्याउँदै आइन् ।

    श्रीमानको निधनपछि कर्मथलो सर्लाही कमै बसिन् । छोरी अर्पणाले प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी चितवन आएर हातपाखुरा खियाउन थालिन् । चितवन,भरतपुरको मालपोत चोकमा उनले पसल व्यवसाय गरिन्, जसले जीवन अघि बढाउन निकै भरथेग गर्‍यो । त्यस अतिरिक्त स्वअध्ययन र साहित्य साधनामा पनि उनी उत्तिकै दत्तचित्त रहिन् ।

    चितवनमै उनले दिवंगत पतिको नामबाट ओम कार्की स्मृति साहित्य प्रतिष्ठान खडा गरेकी थिइन् । त्यसैको माध्यमबाट उनले आफ्नो साहित्यिक चेतनामा पाइन् थपी नै रहिन् । पतिसँगको साथ क्षणभंगुर बनेपछि छोरीको जिम्मेवारी नै उनका साथी बनेका थिए। छोरीप्रतिको कर्तव्यबोध,उनलाई उन्नत बाटो देखाउने सपनाको बाटो हिँडेकी अम्बिकालाई बाँकी कुरा सोच्ने फुर्सदसम्म थिएन् ।

    यौवनावस्थामै विधवाको घुम्टो ओढेकी उनलाई घरपरिवारले त्यसबीच पनि बिहे गरेर जीवनको अर्को बाटो सुरू गर्न नसुझाएका होइनन् । तर छोरीप्रतिको कर्तव्यले उनकै सपनामा डोहोरिएकी अम्बिकाले दोस्रो बिहेबारे दिमागमा आउनै दिइनन् । कहिल्यै त्यो आवश्यकता महसुस गरिनन् पनि विधवा जीवनको २५ वर्षे यात्रामा उनले घर पढिन् । परिवार, नातागोता र आफन्तहरूको अनुहारसँग पनि चिनजान भयो। पैसा साथमा हुँदाका साथीसंगी र पैसा साथमा नहुँदाका साथी-संगातीको भेद थाहा पाइन् । समाजमा रहेका मानिसहरूको अनेक रूप र बान्कीसँग चिनापर्ची पाइसकेकाले उनी जो कसैलाई सहजै विश्वास पनि गर्न सक्दिनथिन् ।

    तर कसैले विवाहको प्रस्ताव गरिहाले ‘अहिले त्यसबारे केही सोचेको छैन, कथम् मेरो दिमागमा अब बिहे गर्नुपर्छ भन्ने आयो भने आफैं मान्छे खोज भनेर भन्नेछु’ भन्दै टार्थिन् । २०७९ वैशाख २१ गते उनले छोरीको कन्यादान गरिन् । विज्ञान संकायमा माइक्रो-बायोलोजी लिएर स्नातक गरिरहेकी छोरीको राम्रो कुलघरानबाट कुरा आउँदा उनले उम्काउन चाहिनन् । नाता-कुटुम्बको पयो बाटिहालिन् ।

    छोरीलाई ज्वाइँको साथ लगाएर अन्माएपछि भने उनलाई एक्लोपनले डस्न थाल्यो। श्रीमानको यादले झन् बढी लखेट्न थाल्यो। बुढेसकालमा सहाराविहीन त हुने होइन भन्ने चिन्ताले भित्रैभित्रै डस्न थाल्यो। झन् आहत पो हुन थालिन् उनी एक्लोपनको सन्नाटाले अत्यास बढिरहेकै बखत आफन्तले पुनः विवाहको प्रस्ताव लिएर आएका थिए । बुटवल, मंगलापुरका कुञ्जरमणि ज्ञवाली तीन वर्षअघि कोभिड-१९ को कहरमा पत्नी गुमाएर बसेका रहेछन् ।

    अम्बिकाको माइती पक्षले तिनै ज्ञवालीसँग विवाहको प्रस्ताव लिएर आएका थिए । २५ वर्षे जीवन भोगाइको पाठशालामा उनले मानिसका अनेक रूप र छटासँग परिचय पाएकी थिइन्। हत्तपत्ती सम्बन्ध गाँसिहाल्ने कुरामा सचेत हुने नै भइन् ।

    ‘ठीक छ म विवाह गर्न राजी नै छु । कस्तो विचारको मानिस हो, उनले कस्ता मानिस खोजेका हुन्, यी पक्ष पनि त विचार गर्नुपर्छ’ भनेर जवाफ दिइन् । आफन्तले सबै पक्ष विचार गरेरै प्रस्ताव अघि बढाएका थिए। अम्बिका र कुञ्जर अहिलेको चल्तीको माध्यम सामाजिक सञ्जाल फेसबुकमा जोडिए । कुराकानी बाक्लिँदै गयो । दुवैले एकअर्काको भावना गहिरोसँग बुझे । दुवै सम्बन्धनको रिक्तता दोस्रो इनिङमार्फत् पूर्ति गर्न राजी भएका हुन् ।

    ‘सुरूमा हामी फेसबुमार्फत जोडियौं । त्यहाँ कुराकानी हुन थाल्यो । पछि हामीले सामूहिक रूपमा, उहाँका छोरीज्वाइँ र मेरा छोरीज्वाइँसमेत भएर भेटघाट गर्‍यौं । विवाहको छिनोफानो गर्ने जिम्मा उहाँहरूलाई नै दियौं — हामी एकअर्काका लागि सही छौं भन्नेमा पुगेका छौं, तिमीहरू के भन्छौ, तिमीहरूले हुन्छ अगाडि बढौं भन्छौ कि के भन्छौ, निर्णय देओ, हामी त्यसमा राजी छौं भनेपछि उनीहरूले हाम्रो इच्छालाई बिहेमा परिणत गरिदिए,’ अम्बिकाले विवाहको कुरा छिन्दाको क्षण सम्झिइन् ।

    समाजको मनले एकल महिलाको विवाह स्विकारिसकेको छैन । तर अम्बिका र कुञ्जरमणिको विवाहले एकल महिलाको विवाहप्रतिको दृष्टिकोण बदल्न भरपूर भूमिका खेलिरहेको छ । २५ वर्षपछि सहयात्राको हात पाउँदा अम्बिका पुलकित छिन्। सिउँदोमा बिहेको दोस्रो सिन्दुर परेलगत्तै उनले सामाजिक सञ्जालमा खुसी बाँडिन् पनि अहिले सामाजिक सञ्जालमा उनको त्यो पोस्ट भाइरल भइरहेको छ । उनको पोस्ट साझा गर्नेले अम्बिका र कुञ्जरको दोस्रो इनिङलाई समाज परिवर्तनको कडीका रूपमा चित्रण गरेका छन् । सबैलाई सेयर गर्न उत्प्रेरित पनि गरिरहेका छन् ।

     

    आइतवार, मंसिर ३ २०८०११:४५:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार