मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पर्यटकको व्यवस्थापन गर्न व्यवसायीलाई हम्मेहम्मे

पर्यटकको व्यवस्थापन गर्न व्यवसायीलाई हम्मेहम्मे

मेगा खबर संवाददाता

४, मंसिर २०८०
  • 865
    SHARES

  • पर्यटकको व्यवस्थापन गर्न व्यवसायीलाई हम्मेहम्मे

    काठमाडौं, मङ्सिर ४ गते, गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सुनाए । 

    अन्नपूर्ण क्षेत्र पनि यतिबेला चलायमान बनेको छ । त्यस क्षेत्रमा कात्तिकयता २४ हजार पर्यटक पुगेका छन् । पर्यटकको सङ्ख्या अत्यधिक हुँदा लामो समयपछि पदमार्गमा आश्रित पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक ‘एक्याप’ पुगेका छन् । 

    दसैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरुको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । कुनै समय अधिक मात्रामा विदेशी पर्यटकहरु ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ । तिहार लगत्तै पर्यटकीय नगरी पोखरा पनि पर्यटकले भरिएको छ । काठमाडौँ–पोखरा रुटमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।

    बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेकाले कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्रमा उत्साह थपिएको जानकारहरु बताउँछन् । नेपालको पर्यटन क्षेत्रबारे पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा हुन थालेको, विशिष्ट पाहुनाको नेपाल भ्रमण, अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ । 

    तनहुँको मानुङकोट र बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्दा त्यस क्षेत्रको आर्थिक गतिविधि बढेको छ भने यसले व्यवसायीको सक्रियता पनि बढाएको छ । मानुङकोटमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक पुगेका छन् भने बन्दीपुरमा पछिल्लो समय २६ वटा देशका पर्यटक भित्रिँदा होटल भरिभराउ भएका छन् ।

    उसो त यो याम नेपालको पर्यटन क्षेत्रका लागि अनुकुल मानिन्छ । दसैँ, तिहार र छठ पर्वको माहोलले पर्यटकीय गतिविधि पनि बढाएको छ । यसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीको बुझाइ छ ।

    होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समग्ररुपमा पर्यटन क्षेत्रमा उत्साहजनक रहेको बताए । “पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । पर्यटक आगमनको आँकडा पनि उत्साहवद्र्धक छ, योभन्दा धेरै पर्यटकलाई सेवा दिन पूर्वाधार तयार भइसकेको छ”, उनले भने ।

    पछिल्लो समय होटलका रुमको सङ्ख्या ढेका छन् । तारे होटल, केबलकारलगायतका पूर्वाधारमा खर्बौं लगानी भएका छ । यद्यपि ‘सप्लाइ’को तुलनामा माग कम भएकाले यो क्षेत्रलाई थप गतिशिल बनाउन नसकिएको अध्यक्ष शाहको भनाइ छ । उनले भने, “पर्यटकीय पूर्वाधारमा लगानी धेरै भइसक्यो । लगानीको प्रतिफलका लागि व्यापार चाहिन्छ, छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक ल्याउन नीतिगत र संरचनागत सुधार जरुरी छ ।”

    अध्यक्ष शाहले अहिले आइरहेका पर्यटकभन्दा तीन गुणा सङ्ख्यालाई सेवा दिन सकिने गरी पूर्वाधार तयार भइसकेका छन् । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणभएका छन् भने चिनियाँ र भारतीय पर्यटक बढाउन नीतिगत र योजनागत कार्यक्रम आवश्यक भएको उनको भनाइ छ । उनले पर्यटकीय याममा तारे होटलमा चहलपहल बढे पनि साना होटलको व्यवसाय भने अझै फष्टाउन नसकेको उल्लेख गरे ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भइसकेको र अबका दिनमा धेरैभन्दा धेरै विदेशी पर्यटक आकर्षण गर्न थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुनुपर्ने, गन्तव्य पुग्ने सडक स्तरोन्नति गरिनुपर्नेमा व्यवसायीको जोड छ ।

    सोमवार, मंसिर ४ २०८००४:१८:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार