मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पचहत्तर प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्

पचहत्तर प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्

मेगा खबर संवाददाता

१३, आषाढ २०८१
  • 919
    SHARES

  • पचहत्तर प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्

    काठमाडौँ, असार १३ गते, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक सबैभन्दा बढी आफ्नै देशमा ठगिने गरेका छन् । वैदेशिक रोजगारीका पीडितलाई निःशुल्क कानुनी सेवा दिँदै आएको संस्था (पिपुल फोरम) को अध्ययनमा गन्तव्य मुलुक प्रस्थान गर्नुअगावै श्रमिक स्वदेशमै ठगिने गरेका छन् । 

    सो संस्थाको अध्ययनमा चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगार विभागमा दर्ता भएका ठगी दुई हजार ३०४ मुद्दाको अनुसन्धान गर्दा ७५ प्रतिशत युवा स्वदेशमै रहेका एजेन्टबाट ठगिएको उल्लेख छ । सो मुद्दाको अध्ययनकर्ता अधिवक्ता सुदीप देवकोटाले नेपालमा युवा वैदेशिक रोजगारी जान्छु भनेर सोचेदेखि नै ठगिन सुरु हुने गरेको बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवा फोटोकपी गर्ने पसले,ऋण दिने साहु हुँदै स्थानीयदेखि केन्द्रका दलाल,वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी,अनलाइन श्रम स्वीकृति,स्वास्थ्य परीक्षण,हवाई टिकटलगायतमा ठगिने गरेको उहाँको अध्ययनले देखाएको छ । 

    अध्ययन अनुसार श्रमिक बढी ठगिने गन्तव्य देशमा साउदी अरब रहेको छ । सो अवधिमा ७.२० प्रतिशत युवा साउदीमा ठगिएका छन् भने संयुक्त अरब इमिरेटस् (युएई) मा ५.३८ प्रतिशत युवा ठगिने गरेका छन् । मलेसियामा ५.२८ प्रतिशत, कुवेत चार प्रतिशत, कतारमा दुई प्रतिशत,ओमान ०.६९ प्रतिशत अन्य मुलुकको हिस्सा ०.७३ प्रतिशत रहेको अध्ययनले देखाएको छ । 

    बढी ठगी बागमती प्रदेशमा

    वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएका युवाको अवस्था प्रदेशगत रूपमा अध्ययन गर्दा सबैभन्दा बढी २८।५१ प्रतिशत बागमती प्रदेशका युवा ठगिएका छन् । 

    यस्तै मधेश प्रदेशका १८.७० प्रतिशत र कोशी प्रदेशका १८.२७ प्रतिशत ठगीमा परेका छन् । सो अवधिमा लुम्बिनी प्रदेशका १३.७१ प्रतिशत, गण्डकी प्रदेशका ११.४७ प्रतिशत, कर्णाली प्रदेशमा ४.४७ प्रतिशत र सुदूरपश्चिम ५.२९ प्रतिशत रहेको सो अध्ययनमा उल्लेख छ । 

    वैदेशिक रोजगारीमा संस्थागतभन्दा व्यक्तिगत रूपमा नेपाली श्रमिक बढी ठगिएको पाइएको छ । सो संस्थाको अध्ययनले करिब ७१ प्रतिशत नेपाली श्रमिक व्यक्तिबाट नै ठगिन्छन् भने संस्थागत रूपमा २९ प्रतिशत ठगिएको पाइएको छ । नेपालबाट व्यक्तिगत वा संस्थागत गरी नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । संस्थागत अर्थात् नेपाल सरकारबाट लाइसेन्स लिएर वैधानिक रूपमा सञ्चालन भएका म्यानपावर कम्पनी हुन् । जसले निश्चित शुल्क लिएर श्रमिक वैदेशिक रोजगारीमा पठाउँछन् । दोस्रो भनेको व्यक्तिगत रूपमा जाने श्रमिक । 

    सो संस्थाको अध्ययन अनुसार चालु आवको हालसम्म दुई हजार ३०४ जनालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दा चार करोड ३३ लाख ५२ हजार ७१० रुपियाँ ठगी भएको छ । लामो समय अगाडिदेखि नै वैदेशिक रोजगारीमा समस्या परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको छ । गोरखापत्र अनलाइन  

    बिहिवार, आषाढ १३ २०८१०८:२०:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार