मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

एसइई नतिजामा अङ्क चढाउँदा बढी त्रुटि

एसइई नतिजामा अङ्क चढाउँदा बढी त्रुटि

मेगा खबर संवाददाता

३२, श्रावण २०८१
  • 1.1K
    SHARES

  • एसइई नतिजामा अङ्क चढाउँदा बढी त्रुटि

    काठमाडौँ, साउन ३२ गते,माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी त्रुटि मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा भएको पाइएको छ । २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्याेग गरेका विद्यार्थीको नतिजाबाट यस्तो देखिएको हो । पुनर्योगका लागि दिएकाहरूको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । 

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८० सालको एसइईको नतिजालाई लिएर पुनर्योगका लागि १८ हजार ६१२ निवेदन परेको थियो । पुनर्योगका लागि निवेदन दिएकामध्ये अब ३० जनाको मात्रै नतिजा सार्वजनिक हुन बाँकी छ । बाँकी नतिजा एकदुई दिनमै सार्वजनिक हुने प्रक्रियामा रहेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले बताउनुभयो । 

    बोर्डका अनुसार तीमध्ये ८४३ विषयमा नतिजा परिवर्तन भएको छ । यसो भनेको कुल आवेदनको ४।६ प्रतिशत हुन आउँछ । बोर्डले दिएको जानकारी अनुसार नतिजामा त्रुटि आउनुमा थुप्रै कारण पत्ता लागेको छ । 

    जसमध्ये मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा सबैभन्दा धेरै अर्थात् १।१४ प्रतिशत त्रुटि देखिएको छ । उत्तरपुस्तिकाबाहिर अङ्क चढाउँदा ०।९४ प्रतिशत त्रुटि भएको छ । 

    बाहिर अङ्क जोड्दा ०।८७ प्रतिशत र उत्तरपुस्तिका परीक्षणका क्रममा ०।७० प्रतिशत त्रुटि भएको देखिएको छ । परीक्षण गर्दा र जोड्दा दुवैमा भएको त्रुटि ०।०४ प्रतिशत छ । उत्तरपुस्तिकाबाहिर अङ्क चढाउँदा र जोड्दा ०।९२ प्रतिशत, जोड्दा र प्रविष्ट गर्दा ०।०१ प्रतिशत र परीक्षण गर्दा, अङ्क चढाउँदा र जोड्दा ०।०१ प्रतिशत त्रुटि देखिएको बोर्डले जनाएको छ । 

    परीक्षा नियन्त्रक पौडेलले कक्षा ९ मा फाराम भर्ने बेलादेखि भएको त्रुटिको एकमुष्ट परिणाम एसइईको नतिजा सार्वजनिक गर्दा देखिएको बताउनुभयो । “सरसर्ती बाहिरबाट हेर्दा बोर्डको कमजोरीका कारण नतिजामा त्रुटि भयो भन्ने सुनिन्छ । तर वास्तविकता त्योभन्दा फरक छ,” उहाँले भन्नुभयो, “कतै परीक्षार्थी आफैँले गलत अङ्क लेखेका कारण समस्या देखिएको छ । कतै परीक्षणका क्रममा पनि समस्या देखिएको छ । एउटा निकायले मात्रै सुधार गरेर यो समस्याबाट पार पाउन सकिने देखिँदैन ।”

    बोर्डका अनुसार अहिलेको पुनर्योगबाट परिवर्तन भएको नतिजा गत वर्षको भन्दा थोरै हो । २०७९ साल (गत वर्ष) को एसइईको नतिजाप्रति चित्त नबुझाई पुनर्योगका लागि तीन हजार ४५६ जनाले आवेदन दिएकोमा ९६४ अर्थात् आवेदनको २५ प्रतिशतको नतिजा परिवर्तन भएको थियो । त्यस्तै २०७८ सालमा ६४१ को आवेदन परेकोमा २९८ अर्थात् ४।९३ प्रतिशतको नतिजा परिवर्तन भएको थियो । गोरखापत्र अनलाइन

    शुक्रवार, श्रावण ३२ २०८१०६:५०:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार