काठमाडौँ, भदौ ६ गते, सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण सम्पूर्ण रूपमा सम्पन्न नभए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक प्रबन्ध मिलाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “धरहरा पूरै सञ्चालन गर्न नसकिए पनि केही भाग सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । धरहराको काम केही दिनमै सम्पन्न हुने होइन । धरहरा चढ्न चाहनेको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ ।”
निर्माणाधीन संसद् भवनको ८१ प्रतिशत काम सम्पन्न भएको भन्दै उपप्रधानमन्त्री सिंहले निर्धारित समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले जनशक्ति बढाएर भए पनि निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन भएको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “के कति प्रगति भयो । साप्ताहिक रूपमा समीक्षा गर्दै आएका छौँ । निर्माणमा ढिला हुन दिने छैनौँ ।” गोरखापत्र अनलाइन
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।