काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । संशोधित मूल्य सोमबार राति १२:०१ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यस्तै, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रतिकिलोलिटर २० रुपैयाँ तथा अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य समायोजन गरिएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) ले जुलाई ३१ मा पठाएको नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । नयाँ खरिद दरमा पेट्रोल प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेल ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धन १९ रुपैयाँ ६ पैसा महँगो परेको निगमले जनाएको छ ।
संशोधित मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ।
यसअघि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेलमट्टितेल १९५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। निगमले मूल्य समायोजन गरे पनि हालको खरिद लागतका आधारमा पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ बराबरको घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।