मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बाढी प्रभावितका लागि विदेशीदेखि गैरसरकारी संस्थासम्मको सहयोग,राहत कोषमा साढे ४ अर्ब

बाढी प्रभावितका लागि विदेशीदेखि गैरसरकारी संस्थासम्मको सहयोग,राहत कोषमा साढे ४ अर्ब

मेगा खबर संवाददाता

१३, भाद्र २०८३
  • 412
    SHARES

  • बाढी प्रभावितका लागि विदेशीदेखि गैरसरकारी संस्थासम्मको सहयोग,राहत कोषमा साढे ४ अर्ब

    काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति भएपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्रता दिएको छ। विपद्को यो अवस्थामा स्वदेश तथा विदेशका सरकार, दातृ निकाय र विभिन्न संस्थाबाट नेपाललाई आर्थिक तथा मानवीय सहयोग जुट्न थालेको छ ।

    अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार एसियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि ५ मिलियन अमेरिकी डलर अनुदान दिने प्रतिबद्धता जनाएको छ । एडीबीले थप प्राविधिक सहयोगका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

    विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण ऋणस्वरूप १६७ मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले औपचारिक अनुरोध गरेपछि उक्त रकम प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

    अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर तथा अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियन डलर सहयोग घोषणा गरेका छन्। भारतबाट तीन चरणमा गरी ५७.५ टन मानवीय सहायता र अत्यावश्यक औषधि नेपाल आइसकेको छ ।

    चीनले बाढी प्रभावित क्षेत्रमा ३० वटा बेलिब्रिज उपलब्ध गराउने तथा शव व्यवस्थापनका लागि २ हजार ‘एयरटाइट ब्याग’ सहयोग गर्ने घोषणा गरेको छ । चीन र अमेरिकाबाट थप मानवीय सहायता शनिबारसम्म उपलब्ध हुने जनाइएको छ। स्विट्जरल्याण्डले संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १ मिलियन स्वीस फ्र्याङ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले खोज, उद्धार र पुनःस्थापनाका लागि तत्काल १२ लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ। नेपाल रेडक्रस तथा राष्ट्रिय निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा मानवीय सहायता निरन्तर जारी राख्ने आईएफआरसीले जनाएको छ ।

    गैरसरकारी संस्थाबाट पनि ठूलो सहयोग

    अर्थ मन्त्रालयका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रभावित क्षेत्रमा खाद्यान्न, टेन्ट, अस्थायी आवास सामग्री, खानेपानी तथा सरसफाइ सामग्री, स्वास्थ्य तथा पोषण सामग्री र उद्धार उपकरण उपलब्ध गराइरहेका छन् ।

    अक्सफामले २ सय सरसफाइ सामग्रीका प्याकेट र १ हजार एक्वा ट्याब्लेट उपलब्ध गराएको छ भने करिब १ करोड ६० लाख रुपैयाँ बराबरका थप गैरखाद्य सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।

    डिसिए नेपालले धादिङमा गमबुट, पिक्याक्स, बेल्चा, पञ्जा र मास्क उपलब्ध गराएको छ । धादिङ र नुवाकोटका प्रभावित परिवारका लागि टेन्ट, सौर्य बत्ती र खाद्यान्नको व्यवस्था पनि भइरहेको छ ।

    सेभ द चिल्ड्रेनले नुवाकोटमा २ सय गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ भने थप ८ सय सामग्री उपलब्ध रहेको जनाएको छ । ब्लिकनाओ फाउन्डेसनले नुवाकोटमा दुईवटा जेनेरेटर उपलब्ध गराएको छ ।

    बिबिसी मिडिया एक्सनले रसुवा र नुवाकोटका स्थानीय रेडियोका लागि तीनवटा जेनेरेटर उपलब्ध गराउँदै नियमित प्रसारण पुनःसञ्चालनमा सहयोग गरेको छ ।

    एड्रा नेपाल, हेलेन केलर इन्टरनेसनल, इस्लामिक रिलिफ नेपाल, प्लान इन्टरनेसनल नेपाल, पिपुल इन निड, मर्सी कप्र्स, युनाइटेड मिसन टु नेपाल, ह्यान्डिक्याप इन्टरनेसनल र केयर नेपाललगायत संस्थाले पनि प्रभावित जिल्लामा खाद्यान्न, अस्थायी आवास, खानेपानी, सरसफाइ, पोषण, स्वास्थ्य तथा गैरखाद्य सामग्री उपलब्ध गराइरहेका छन् ।

    केही संस्थाले महिला तथा बालबालिकाका लागि सुरक्षित स्थान, घाइतेका लागि पुनःस्थापना तथा सहायक उपकरण र मानसिक स्वास्थ्यसम्बन्धी सेवा पनि सञ्चालन गर्ने जनाएका छन् ।

    सरकारका अनुसार राहत तथा सहयोग अब खाद्यान्नमा मात्र सीमित नभई अस्थायी आवास, खानेपानी शुद्धीकरण, सरसफाइ, स्वास्थ्य तथा पोषण, महिला तथा बालबालिका संरक्षण, सञ्चार सेवा पुनःसञ्चालन र उद्धार उपकरणसम्म विस्तार भएको छ।

    प्रधानमन्त्री राहत कोषमा साढे ४ अर्ब

    बाढी प्रभावितका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा पनि ठूलो रकम जम्मा भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार रातिसम्म नौवटा वाणिज्य बैंकका खातामा गरी ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ जम्मा भएको छ ।

    यस्तै, हिमालयन र लक्ष्मी बैंकमा गरी ६ लाख ८० हजार ६१८ अमेरिकी डलर अर्थात् करिब १० करोड ३८ लाख रुपैयाँ बराबरको रकमसमेत जम्मा भएको कार्यालयले जनाएको छ ।

    शनिवार, भाद्र १३ २०८३०१:३६:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार