काठमाडौं, बाढी–पहिरोले देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भइरहेका बेला त्यसको असर सेयर बजारमा समेत देखिएको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्सेमा ४७ अंकभन्दा बढीको गिरावट आएको छ । बजारमा बिक्री चाप बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार परिसूचक ४७.२९ अंक अर्थात् १.८४ प्रतिशतले घटेर २५१०.०१ विन्दुमा झरेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से कारोबारको अन्तिम समयसम्म सम्हालिन सकेन ।
दिनभर ९० लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएका कम्पनीमध्ये १३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २६३ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।
बजारमा घोराही सिमेन्ट बाहेक अधिकांश कम्पनीमा बिक्री चाप देखिएको छ । घोराही सिमेन्टको सेयर मूल्य ७.५७ प्रतिशतले बढ्दा अन्य कम्पनीमा उल्लेख्य वृद्धि देखिएन । उल्टै ३५ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
सबैभन्दा धेरै गिरावट मिक्लाजुङ, चिलिमे र रसुवागढी हाइड्रोपावर लगायतका कम्पनीमा देखिएको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रह्यो । कम्पनीको २६ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि सर्वोत्तम पेन्ट्स र चिलिमे हाइड्रोपावर पनि धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।
समूहतर्फ पनि सोमबार बजारमा व्यापक दबाब देखियो। निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५.०३ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य समूह ३.३० प्रतिशत, होटल समूह २.९४ प्रतिशत र होटल तथा पर्यटन क्षेत्र २.४४ प्रतिशतले घटेका छन् ।
रसुवा लगायतका क्षेत्रमा आएको बाढी–पहिरोले जलविद्युत आयोजनामा क्षति पुर्याउनुका साथै सडक सञ्जालसमेत प्रभावित बनाएको छ । आयोजनाको सञ्चालन तथा आपूर्ति व्यवस्थामा परेको असर र त्यसबाट कम्पनीको वित्तीय अवस्थामा पर्न सक्ने प्रभावप्रति लगानीकर्ताको चासो बढेको देखिन्छ ।
प्राकृतिक विपत्तिको असर, कमजोर लगानीकर्ता मनोबल र बढ्दो बिक्री चापले सोमबारको बजारलाई थप दबाबमा पारेको देखिएको छ । अब प्रभावित जलविद्युत आयोजना तथा अन्य कम्पनीको क्षतिको वास्तविक अवस्था सार्वजनिक हुँदै जाँदा त्यसले आगामी कारोबारमा समेत प्रभाव पार्न सक्ने देखिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।