काठमाडौँ, लामो समयदेखि लगातार घट्दै आएको वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदरमा असोज महिनामा आएर केही स्थिरता देखिएको छ । २० वाणिज्य बैंकले सार्वजनिक गरेको असोजको ब्याजदर तालिकाअनुसार १६ बैंकले भदौकै दरलाई निरन्तरता दिएका छन् भने चार बैंकले मात्रै ब्याज घटाएका छन् ।
असोजका लागि एभरेस्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । एभरेस्टले ४.०५ प्रतिशतबाट सबैभन्दा धेरै ०.५५ प्रतिशत बिन्दुले घटाएर ३.५० प्रतिशत कायम गरेको छ ।
नबिलले ४.५५ बाट ४.२५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ३.८० बाट ३.७५ प्रतिशत र कुमारीले ३.७६ बाट ३.७३ प्रतिशतमा झारेका छन् ।
पाँच बैंकको ब्याजदर ४ प्रतिशतभन्दा तल
असोजमा पाँच वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल छ । एभरेस्ट ३.५०, कुमारी ३.७३, स्ट्यान्डर्ड चार्टर्ड ३.७५, सिद्धार्थ ३.७६ र सिटिजन्स बैंक ३.८५ प्रतिशतमा छन् ।
सिद्धार्थ र सिटिजन्सले भने असोजमा ब्याजदर घटाएका होइनन्,भदौकै दरलाई निरन्तरता दिएका हुन्।
प्रभुको ब्याजदर सबैभन्दा धेरै
१६ बैंकले ब्याजदर नघटाएपछि धेरै बैंकको दर यथावत् छ। हिमालयन, प्राइम कमर्सियल, एनआईसी एसिया, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
नेपाल एसबिआईले ४.१०, कृषि विकास र नेपाल बैंकले ४.१५ प्रतिशत दिनेछन्। प्रभु बैंकको ब्याजदर ४.५५ प्रतिशतसहित सबैभन्दा धेरै छ । माछापुच्छ्रे, एनएमबी,सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशतलाई निरन्तरता दिएका छन् ।
बैंकिङ प्रणालीमा लामो समयदेखि अधिक तरलता रहेकाले निक्षेपको ब्याजदर घट्दै आएको थियो.। तर पछिल्लो समय कर्जाको माग र एलसी खुल्ने क्रम बढ्न थालेपछि बैंकहरू थप ब्याजदर घटाउन तत्काल इच्छुक नदेखिएका हुन् ।
यससँगै २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर भदौको ४.१४ प्रतिशतबाट असोजमा ४.०९ प्रतिशतमा झरेको छ । यसले निक्षेपको ब्याजदर घट्ने क्रम अब स्थिरतातर्फ जान थालेको संकेत गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।