काठमाडौं, सरकारले लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या र सेवाग्राहीको चाप घटाउन नयाँ प्रणालीमार्फत छपाइ थालिएको हो ।
ईडीएलभीआरएसमा सेवाग्राहीको विवरण अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। त्यहाँ लाइसेन्स छपाइ भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइएको छ । प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
सोही अनुसार मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको छ ।
प्रदेशले सम्झौता नगरेको अवस्थामा भने यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिनेछ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले लाइसेन्स छिटो र सहज रूपमा पाउने अपेक्षा गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।