मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सरकारलाई व्यवसायीको गम्भीर प्रश्न

सरकारलाई व्यवसायीको गम्भीर प्रश्न

  • 2.4K
    SHARES

  • सरकारलाई व्यवसायीको गम्भीर प्रश्न

    सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थान र दिगो पर्यटनको कार्यक्रमलाई विशेष प्राथमिकता दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्को दुवै सदनमा संयुक्तरूपमा प्रश्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र बाह्य कारणले समेत पर्यटनमा पारेको प्रभावको अध्ययन गरी पर्यटन पुनरुत्थानलगायत दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ ।

    कोभिड नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीको अवस्थामा मुलुकको पर्यटन उद्योगमा नराम्ररी असर परेको छ । कोभिडले आक्रान्त पारेको पर्यटन उद्योगलाई प्रोत्साहन गर्न र त्यसमा आबद्ध लाखौँ श्रमिकको भविष्यलाई सम्बोधन हुने गरी सरकारले नीति तथा कार्यक्रममा विशेष राहत प्याकेज ल्याउने पर्यटन व्यवसायीको अपेक्षा थियो । हवाई पूर्वाधार तथा ग्रामीण पर्यटन पूर्वाधारमा राम्रा कुरा आए पनि कोभिडपछिको आन्तरिक पर्यटन प्रवर्द्धन र पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नीति तथा कार्यक्रम नआएको व्यवसायीले प्रतिक्रिया दिएका छन् । यद्यपि नीति तथा कार्यक्रममा छुटेका पर्यटन क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटमा समेटिने उनीहरुको विश्वास छ ।

    ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसायीको अपेक्षित विषय नीति तथा कार्यक्रममा प्रष्ट नभएको भन्दै आगामी बजेट कार्यक्रममा समेटिने विश्वास व्यक्त गरे । “पर्यटन उद्योगी व्यवसायीलाई उत्साहित गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा प्रष्ट आएको छैन तर पनि अहिले नसमेटिएका विषय बजेटमा पर्ने अपेक्षा गरेका छौ”, उनले भने । अध्यक्ष सुवेदीले कोभिडले थलिएको पर्यटनलाई उकास्न सरकारले कम्तीमा छ महिनादेखि एक वर्षको राहतका प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।

    नेपालमा पदयात्रा र पर्वतारोहण गरी झण्डै एक हजार ८०० संस्था छन् । यिनमा रु १५ अर्बभन्दा बढीको लगानी छ । सरकारले पर्यटन पुनरुत्थान र दिगो पर्यटनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य कोभिड–१९ का कारण स्थगन गर्न बाध्य भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।टानका पूर्वअध्यक्ष नवराज दाहालले नीति तथा कार्यक्रममा हवाई क्षेत्रमा बढी नै कार्यक्रम आए पनि पर्यटन क्षेत्रमा ठोस कार्यक्रम आउन नसकेको बताए। उनले भने, “पर्यटनको मुख्य क्षेत्र पदयात्रा, पर्वतारोहण, ट्राभललगायतलाई कोभिडले आक्रान्त बनाएको पर्यटनलाई उकास्ने गरी ठोस कार्यक्रम नीति तथा कार्यक्रमा आउनुपर्ने हो,   सरकारले यसतर्फ किन ध्यान नदिएको हो ? उनले भने अहिले छुटेका विषय बजेटमा सम्बोधन हुनुपर्छ । ”कोभिडको विश्वव्यापी महामारी कहिलेसम्म नियन्त्रण हुन्छ अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । त्यसैले अबको एक वर्षसम्म विदेशी पर्यटकको चहलपहल हुँदैन । उक्त अवधिसम्म आन्तरिक पर्यटनलाई चलायमान बनाउन र धराशायी अवस्थामा पुगेको व्यवसायलाई लयमा फर्काई त्यहाँ आवद्ध मजदुर व्यवसायीलाई प्रोत्साहन हुने गरी सरकारले प्याकेज ल्याउनुपर्ने व्यवसायीको भनाइ छ ।

    आइतवार, जेठ ४ २०७७०८:२५:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार