कैलासको टुप्पो, कर्नालीको शिर
कर्नालीको मुहान , सरोवरको डिल।
इतिहास खोइनु छ
रादेउ, महादेउ, झादेउ
र सबैगरी बाह्रदेउ
देवपुरीका मान्ठा नै देउ
इतिहासको रचना जनताले गर्या हुन्
पूराणहरुमा लेखिएको स्वर्ग
हाम्मै कर्नालीका बस्तीहरु हुन्।
यलम्बर र नागराज हुम्लाबाटै आया
भैरवनाथ र चन्दननाथ पनि त्यहींका रयाछन्
पशुपतिनाथ र मुक्तिनाथ जस्तै
खार्पुनाथ र छाँयानाथ रयाछन्
अो, कर्नालीका मान्ठौ!
आकाशको घाम छेकेर
तम्लाई अोझेल पार्न्या अरु नै रयाछन्।
कर्नाली बगेको बग्यै
केही काम लाग्या नाइँ
सिँचाइ र बिजुली पनि अर्न(गर्न) सक्या नाइँ
छोइछिटो छोड्न सक्या नाइँ
यहाँ अझै,
१०८ पटक ढोग अर्नुपर्छ(गर्नुपर्छ)
बहुपती र छुइप्रथा अझै पनि चल्छ
समाज र रहनसहन पढ्न पर्या जइथो
आफ्नो उब्जाउ नखाँदा
भोकमरीको सम्चार बन्छ।
अो, कर्नालीका मान्ठौ!
जाउँ भन्या सडक पुग्या नाइँ
उडुँ भन्या पखेटा नाइँ
तमीमा शिरमाथिबाट उड्या हुन्
सालसालै तमीका सुइना
देख्या नाइँ!