काठमाडौं। डोटी जिल्लाको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई शारीरिक रूपमा अशक्त भएको भन्दै हाजिर गर्न दिएका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई जोरायल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा २५ साउनमा सरुवा गरेकोमा अध्यक्षले हाजिर गर्न नदिएका हुन् । अध्यक्षले नआउनु भनेपछि हाजिर हुन नसकेको ठगुन्नाले बताए । ‘सरुवा भएपछि सुरुमा फोन गर्दा अध्यक्षले अहिले नआउनोस्। तपाईंको सरुवा अन्तै मिलाइदिन्छु भन्नुभयो।’ ठगुन्नाले भने ।
हाजिर हुन नपाएकाले अन्यत्र सरुवा माग्दै मन्त्रालयलाई तीनपटक पत्र पठाइसके पनि सुनुवाइ नभएको ठगुन्नाले बताए । अध्यक्ष ओझाले मन्त्रालयलाई पत्र पठाएर शारीरिक अशक्तताका कारण ठगुन्नाले काम गर्न नसक्ने भन्दै उनको अन्यत्र सरुवा गर्न भनेका छन् ।
ठगुन्ना शारीरिक रूपमा अपांग भएकाले भौगोलिक रूपमा विकट गाउँपालिकामा कामकाज गर्न नसक्ने पत्रमा उल्लेख छ। ठगुन्ना ढाडसम्बन्धी अपांगता भएका व्यक्ति हुन् ।
अधिकृत ठगुन्नाले भने सरकारले खटाएको ठाउँमा जहाँ पनि काम गर्न सक्ने बताएका छन्। ‘जोरायलभन्दा विकट आलितालमा दुई वर्ष काम गरेँ, उता काम गर्न नसक्ने भन्ने होइन,’ उनले भने, ‘तर, हाजिर गर्नै नदिने भनेपछि जबर्जस्ती कसरी जानु ?’
ओझाले भने शारीरिक रूपमा असक्षमका साथै मन्त्रालयले पनि आफूसँग समन्वय नगरी पठाएकाले प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएको बताए ।
जोरायल गाउँपालिकामा अहिले शिक्षातर्फका कर्मचारी तेजबहादुर खत्री निमित्त प्रशासकीय अधिकृत छन्। अध्यक्ष ओझाले खत्रीलाई आफूअनुकूल प्रयोग गर्दै आएकाले नयाँ प्रशासकीय अधिकृतलाई आउन नदिएको स्थानीयको आरोप छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।