काठमाडौँ, असार ३ गते काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ ।
नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको छ । यसका लागि नगर प्रहरी आजैदेखि खट्नेछन्,’ सचिवालयले भन्यो । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।
आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।
मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए । चलचित्र संघका पूर्वअध्यक्ष समेत रहेका प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्धारिकाउदय सिनेमाज्बाट चल्दाचल्दैको फिल्म ‘आदिपुरुष’लाई उतारेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।