काठमाडौँ, नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले बताइन् ।
तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए । तामाङकी दिदी भगवतीले हामीलाई ६ बजेतिर कोठाको ढोका लक भएको र भाइ भित्र रहेको खबर गर्नु भएको थियो । हामी घरमा पुगेका थियौँ,’ चन्दले भने ‘हामीले ढोका फोरेर हेर्दा उहाँ बेड छेउमा मृत भेटिनुभयो ।’ घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्याएर शव पोस्टमार्टमका लागि पठाएको उनले खुलाए ।
रविनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बुधबार बिहान १० बजे उनको शव पोष्टमार्टम हुनेछ । नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’बादशाह जुट’चिसो एष्ट्रे’मुखौटा’छड्के’नाका’वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।
लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।