मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

देवीकोटः धार्मिक आस्था र प्रकृतिको सङ्गमस्थल

देवीकोटः धार्मिक आस्था र प्रकृतिको सङ्गमस्थल

मेगा खबर संवाददाता

१४, आश्विन २०७७
  • 4.0K
    SHARES

  • देवीकोटः धार्मिक आस्था र प्रकृतिको सङ्गमस्थल

    फाईल तस्बिर

    घोराही । दाङ देउखुरीको पहाडी क्षेत्र देवीकोटस्थित भद्राक्षीदेवी मन्दिरमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । पहाडको चुचुरामा अवस्थित भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँनयाँ संरचना पनि निर्माण  भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा छन् । 
     
    हिन्दू धर्मालम्बीको शक्तिपीठ देवीकोट राप्ती गाउँपालिका वडा नं– ९ मा पर्ने  अन्य ठाउँभन्दा निकै विकट क्षेत्रमा छ । सामान्य सडक र विद्युत् पुगे पनि सञ्चार पुग्न नसक्दा सो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्वपश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि मात्र देवीकोट पुग्न सकिन्छ । मोटरसाइकल र साना गाडी मात्र जान सक्ने तर ठूला सवारी साधन जान नसक्ने कच्ची बाटो मात्र छ ।
     
    किंवदन्तीअनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भई भद्राक्षीदेवी उत्पत्ति भएको थियो । मन्दिरका पुजारी लीलाबहादुर कार्कीका अनुसार सत्ययुगदेखि नै देवीकोटमा भद्राक्षीदेवीको पूजाआराधना हुँदै आएको छ । त्यस क्षेत्रको विकास नहुँदा मन्दिरसम्म आउने भक्तजनलाई कष्ट झेल्नुपरेको उनी गुनासो गर्छन् ।
     
    मन्दिरमा पूजाराधना र प्राकृतिक रमणीय दृष्यावलोकन गर्न हिजोआज आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसी बताउछन् । ‘देवीकोटसम्म ठूला सवारी साधन पुग्ने सडक अझै आउन सकेको छैन तर साना सवारीसाधन भने आउन सक्छ । साना सवारी साधनमै भए पनि भक्तजनको आगमन अत्यधिक हुने गरेको छ ’, उनले भने, ‘मन्दिर परिसरमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तका नाममा मन्दिर, खानेपानी, पर्खाल, प्रतीक्षालय निर्माणको काम गरेका छन् ।’
     
    देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमशृङ्खला, महाभारत शृङ्खलाका पहाड, दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सीमा क्षेत्रको भूभागसमेत हेर्न सकिन्छ ।

    मन्दिर परिसरमा टाढाबाट आउने भक्तजनका लागि धर्मधाला, गणेश मन्दिर, शिव मन्दिरसमेत निर्माण भएको उनले बताए । अघिल्ला वर्षमा निकै थोरै व्यक्ति पैदलयात्रा गरेर जाने गरेको देवीकोटमा पछिल्लो समय साँघुरो भए पनि मोटर बाटो पुगेपछि भने भक्तजनको भीड बढेको छ ।  

    करीब तीन बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा विवाहमण्डप र  हनुमान मन्दिर निर्माणाधीवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दाङ जिल्लाको चुरे शृङ्खलाको ऐतिहासिकस्थल देवीकोटमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेवास भन्ने गाउँ छ ।  घोरेबासमा भुरेटाकुरे राजाहरुका समयमा अड्डा, अदालत र गोश्वारा कार्यालयसमेत रहेको स्थानीयवासी बताउँछन् ।

    मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ । कुनै समयमा सेनाको छाउनी रहेकाले अहिले उक्त गाउँलाई छाउनटोला नामकरण गरिएको स्थानीयवासी ७९ वर्षीय  लुमकान्त पौडेलले बताए ।   

    बुधवार, आश्विन १४ २०७७१२:०९:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार