मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अधिकमास समापन हुँदै

अधिकमास समापन हुँदै

मेगा खबर संवाददाता

३०, आश्विन २०७७
  • 1.7K
    SHARES

  • अधिकमास समापन हुँदै

    काठमाडौं । प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि समापन हुँदैछ ।
    असोज २ गतदेखि शुरु भएको अधिकमास आज समाप्त हुन लागेको हो ।

    ज्योतिषीय गणना अनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ ।

    महिनामा दुई वटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलले बताए ।
     
    यस अवसरमा रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको थियो । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । स्थानीयवासीले भने बिहान ७ः३० बजेसम्म मन्दिरमा पूजा आराधना गर्न पाएका थिए ।
       
    मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढावाट लाखौं भक्तजन दर्शनका लागि आउने गरेकामा यस वर्ष चन्द्रागिरी नगरापालिकाले मेला नगर्ने निर्णय गरेको थियो । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन हुने गरेकामा यस वर्ष घर घरमै मच्छेनारायण पूजा एवं पुरुषोत्तममास माहात्म्य वाचन गर्न नगरपालिकाले अनुरोध गरेको नगर प्रमुख घनश्याम गिरीले बताए ।
     
    धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरेका थिए । मत्स्यरुपी भगवानले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेका पुराणमा उल्लेख गरिएको जानकारी दिए ।
      
    यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लागेकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला परेको छ । आज मलमास सकिएपछि कार्तिक १ गते शनिबार घटस्थापना गरी दशैँ शुरु हुनेछ । 
    यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । 

    १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको हो ।  

    शुक्रवार, आश्विन ३० २०७७०६:४०:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार