काठमाडौं, भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताला सरकारले आज खोल्ने भएको छ । समाज कल्याण परिषद्ले चैत ३० गतेदेखि बन्द गरेको पुस्तकालय पुनः सञ्चालनमा ल्याउन परिषद्ले पुस्तकालय व्यवस्थापनलाई प्रतिनिधि पठाउन आग्रह गर्दै पत्राचार गरेको छ ।
भाडा नतिरेको भन्दै समाज कल्याण परिषद्ले अन्य व्यावसायिक स्टलसँगै पुस्तकालयमा पनि ताला लगाएको थियो । तर, पुस्तकालय बन्द गर्ने निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले तत्काल पुस्तकालय सञ्चालन गर्ने निर्णय लिएको हो । भाडा सम्बन्धी विवाद भने यथावत् रहने जनाइएको छ ।
परिषद्ले भाडा बक्यौता रहेको भन्दै सुरक्षाकर्मीको उपस्थितिमा २० वटा स्टलमा ताला लगाएको थियो । परिषद्का अनुसार पुस्तकालय सञ्चालन भइरहेको स्टल नं.३४ को १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ र अर्को स्टलको १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा बाँकी रहेको दाबी गरिएको छ ।
काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद्बीच २०६४ असोज २१ गते भएको सम्झौताअनुसार पुस्तकालयलाई ७५ प्रतिशत भाडा छुटको व्यवस्था गरिएको थियो । सोही सम्झौताअनुसार स्टल नं. ३४ को मासिक भाडा ४ हजार ८४४ रुपैयाँ र अर्को स्टलको ७ हजार ५५५ रुपैयाँ निर्धारण गरिएको थियो ।
पुस्तकालय व्यवस्थापक लिला भट्टराईका अनुसार पुरानो सम्झौताको पुनरावलोकन नगरी निजी व्यवसायसरह व्यवहार गरिएको भन्दै पुस्तकालय पक्ष असन्तुष्ट छ ।
दातृ संस्था तथा व्यक्तिहरूको सहयोगमा पुस्तकालयमा करिब ४० हजार पुस्तक, पत्रपत्रिका, जर्नल तथा विभिन्न मन्त्रालयका प्रतिवेदनहरू सुरक्षित छन् । दैनिक करिब २०० पाठक अध्ययनका लागि पुस्तकालय पुग्ने गरेका थिए ।
पुस्तकालय बन्द भएपछि विभिन्न क्षेत्रबाट विरोध र चासो व्यक्त गरिएपछि सरकारले भाडा विवादलाई छुट्टै प्रक्रियामा राख्दै पुस्तकालय पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।