काठमाडौं, सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । नयाँ व्यवस्था अनुसार प्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको तलब वृद्धि गरिएको छ । यसपटक एसएलसी अनुत्तीर्ण (फेल) शिक्षकहरूको मासिक तलबसमेत ३४ हजार रुपैयाँभन्दा माथि पुगेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तलबमान अनुसार प्राथमिक तहमा दुईभन्दा बढी विषयमा एसएलसी अनुत्तीर्ण शिक्षकले अब मासिक ३४ हजार ४२६ रुपैयाँ तलब पाउनेछन् । त्यस्तै, दुई विषयसम्म मात्रै अनुत्तीर्ण भएका शिक्षकको तलब ३६ हजार ४४५ रुपैयाँ कायम गरिएको छ ।
प्राथमिक तहका एसएलसी उत्तीर्ण शिक्षकमध्ये तृतीय श्रेणीको ४३ हजार ४२८ रुपैयाँ, द्वितीय श्रेणीको ४८ हजार ३८७ रुपैयाँ र प्रथम श्रेणीको ६० हजार ८७४ रुपैयाँ मासिक तलब तोकिएको छ ।
निम्न माध्यमिक तहमा तृतीय श्रेणीका शिक्षकले ४८ हजार ३८७ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकले ६० हजार ८७४ रुपैयाँ र प्रथम श्रेणीका शिक्षकले ६३ हजार ९०४ रुपैयाँ तलब पाउनेछन् ।
सबैभन्दा बढी तलब माध्यमिक तहका शिक्षकहरूको रहेको छ। नयाँ दररेट अनुसार माध्यमिक तृतीय श्रेणीका शिक्षकको मासिक तलब ६० हजार ८७४ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकको ६७ हजार ९०७ रुपैयाँ र प्रथम श्रेणीका वरिष्ठ शिक्षकको ७४ हजार ९५८ रुपैयाँ कायम गरिएको छ ।
सरकारले संशोधित तलबमान २०८३ साउन १ गतेदेखि लागू गरेको जनाएको छ। तलबवृद्धिसँगै शिक्षकहरूले ग्रेड रकम तथा वृद्धिपश्चात् कायम हुने तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि प्राप्त गर्नेछन् ।
यद्यपि सरकारले नयाँ तलबमान लागू गरे पनि सामुदायिक विद्यालयमा अझै पनि एसएलसी अनुत्तीर्ण शिक्षकहरू प्राथमिक तहमा कार्यरत रहेको विषयले शिक्षा क्षेत्रमा बहस कायमै रहेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।