काठमाडौँ, सङ्घीय अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णयसँगै चालु आर्थिक वर्षमा रु ४ अर्ब ६८ करोड ९८ लाख ३० हजार थप बजेट आवश्यक पर्ने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान अन्तर्गत कार्यरत शिक्षकको साविक पारिश्रमिकमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो । निर्णय अनुसार माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक रु ४३ हजार ६६९ बाट बढेर रु ४८ हजार ५८ तथा आधारभूत तहका शिक्षकको रु ३४ हजार ७३० बाट रु ३८ हजार २०३ पुगेको छ ।
यसैगरी, इसिडी सहजकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि दिइँदै आएको सङ्घीय अनुदानमा मासिक रु ५ हजार थप गरिएको छ । अब इसिडी सहजकर्ताको पारिश्रमिक रु १२ हजारबाट रु १७ हजार, विद्यालय सहयोगीको रु १० हजारबाट रु १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको रु १५ हजारबाट रु २० हजार पुगेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार पारिश्रमिक वृद्धि कार्यान्वयनका लागि थप बजेट आवश्यक भएकाले अर्थ मन्त्रालयसँग सहमति माग गरिएको छ । अर्थ मन्त्रालयको सहमतिपछि निर्णय कार्यान्वयनमा आउनेछ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षकको पारिश्रमिक वृद्धि सकारात्मक भए पनि इसिडी सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक न्यूनतम रु २३ हजार पुर्याउनुपर्ने माग गरेको छ । विद्यालय कर्मचारी परिषद्ले भने पारिश्रमिक वृद्धि गरेकोमा सरकारलाई धन्यवाद दिँदै कर्मचारीलाई दरबन्दीमा समायोजन गरी सेवा गर्ने अवसर दिन माग गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।