बाढी प्रभावितका लागि सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भौचर पोस्ट गरेपछि रामेछापका एक युवक प्रहरीको फन्दामा परेका छन् ।
आफूले राहत कोषमा ठूलो रकम सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने युवकले त्यसैमार्फत रकमसमेत उठाउन खोजेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन् । उनलाई रामेछाप प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा भौचर पोस्ट गरेका थिए ।
तर प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त भौचर वास्तविक नभएको खुलेको छ । प्रहरीका अनुसार कार्कीले च्याटजिपिटी प्रयोग गरेर नक्कली बैंक स्टेटमेन्ट तयार पारी आफूले राहत कोषमा रकम जम्मा गरेको देखाएका थिए ।
यतिमात्र होइन, उनले आफूले सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा आफ्नै क्यूआर कोडसमेत पोस्ट गरेको प्रहरीले जनाएको छ । त्यसबाट रकम संकलन गरी ठगी गर्ने उद्देश्य रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।