काठमाडौं, सिन्धुपाल्चोकको भोटेकोसी नदीमा ठूलो बाढी आएको भन्दै सामाजिक सञ्जालमा फैलिएका सूचना गलत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनका अनुसार भोटेकोसीमा अहिले बाढीको अवस्था छैन । नदीको पानीको सतह सामान्यभन्दा केही बढे पनि ठूलो जोखिम हुने गरी बहाव नबढेको प्रशासनले स्पष्ट पारेको छ ।
चिनियाँ अधिकारीहरूले पनि नदीमा पानीको सतह केही बढेको जानकारी गराएका छन् । तर, बाढी आएको भन्दै त्रास फैलाउने किसिमका सूचना सामाजिक सञ्जालमा प्रसारित भएपछि स्थानीयमा अनावश्यक डर सिर्जना भएको प्रशासनको भनाइ छ ।
प्रशासनले नदीको वास्तविक अवस्थाबारे आधिकारिक निकायबाट पुष्टि गरेर मात्रै सूचना तथा समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । विपद्को संवेदनशील समयमा गलत वा अतिरञ्जित सूचना फैलाउँदा थप भ्रम र त्रास उत्पन्न हुने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत सचेत रहन भनिएको छ ।
हाल भोटेकोसी नदीमा सामान्य वृद्धि देखिए पनि ठूलो बाढीको अवस्था नरहेको प्रशासनले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।