मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

म्याग्दीमा मोटर चल्ने तीन पुल निर्माण शुरु

म्याग्दीमा मोटर चल्ने तीन पुल निर्माण शुरु

  • 2.5K
    SHARES

  • म्याग्दीमा मोटर चल्ने तीन पुल निर्माण शुरु

    म्याग्दी। गण्डकी प्रदेश सरकारले म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण शुरु गरिएको हो । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले रु नौ करोड ८० लाखको लागतमा ठेक्का सम्झौता गरेका फरक–फरक निर्माण कम्पनीहरुले पुल निर्माणलाई तीव्रता दिएका जानकारी दिए । 

    “गत आर्थिक वर्षमै सम्झौता भए पनि कोरोनाको जोखिम र बाढी पहिरोका कारण व्यवसायी कार्यक्षेत्रमा परिचालन हुन सकेका थिएनन्”, उनले भने, “हिउँद लागेसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । निर्धारित समयभित्रै पुल निर्माण गरिसक्ने तयारीसहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेका छन् ।”

    मालिका गाउँपालिकाको दरबाङदेखि सिरदी हुदै निस्कोट र मङ्गला गाउँपालिकाको अर्मन जोड्ने सडकअन्तरगत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रविधिको पुल निर्माण गर्न रु चार करोड ४५ लाखमा प्रदीप–जुम्ली जेभीले ठेक्का लिएको छ । विसं २०७७ साउन ४ गते सम्झौता भएको यो आयोजनाको म्याद दुई वर्षको छ । खोलाको दायाँ र बाँया किनारमा पहाड भएकाले त्यसैमा खाडल खनेर पिल्लर बनाई पुलको ट्रस जोड्ने र ढलान गर्ने डिजाइन बनेको छ । निर्माण कम्पनीका प्रतिनिधि प्रवीण सापकोटाले पुलको जग राख्ने र खाडल खन्ने काम सकिएको बताए । 

    मालिका गाउँपालिका–७ बिम र धवलागिरि गाउँपालिका–६ मराङको सिमाना भएर बग्ने अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो आरसिसी टिबिएम प्रविधिको पुल निर्माणका लागि सन २०२० को मार्च १२ मा फेवा–सावित्री जेभीले ठेक्का सम्झौता गरेको थियो । रु दुई करोड ७२ लाखमा ठेक्का लिएको यो योजनाको म्याद एक वर्षको छ । पुलको जग खनेर पिल्लरको ढलान शुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताए। 

    यसैगरी अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमानास्थित संसारे खोलामा १६ मिटर लामो मोटर चल्ने पुल बनाउन २०७६ फागुनमा रायमाझी–हिमालयन जेभीले ठेक्का सम्झौता गरेको थियो । रु दुई करोड ६३ लाखमा सम्झौता गरेको ठेकेदारले एकातर्फको पिल्लरको ढलान शुरु गरेको छ । यो पुलको म्याद पनि आगामी फागुन महिनासम्म छ । 

    कार्यालयमार्फत मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माणाधीन अवस्थामा छ । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले रु छ करोड २४ लाखमा ठेक्का लिएको थियो । कम्पनीका प्रतिनिधि नारायण जिसीले नौ महिनापछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएको बताए । 

    यसैगरी दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तरगत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनःडिजाइन गर्दा लम्बाई बढाउनुपर्ने देखिएको इञ्जिनीयर अर्यालले बताए । यसअघि १५ मिटरको पुल बनाउने डिजाइन तयार पारे पनि बाढीले धेरै कटान गरेपछि २५ मिटर लामो बनाउनुपर्ने भएको हो । आठ दशमलव चार मिटर फराकिलो हुने सबै पुलको छ मिटरमा ढलान र दायाँबायाँ एक दशमलव दुई मिटरको पैदल हिँड्ने फुटपाथ हुनेछ । पुल निर्माण भएपछि ग्रामीण सडकमा बाह्रै महिना नियमित सवारी सञ्चालन हुने बताइएको छ । 

    बुधवार, पौष २२ २०७७०७:३१:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार