कर्णाली। प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ । छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालतले परमादेश जारी गरेपछि वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लास्थित कृषि फर्मलाई पठाइएको हो ।
अदालतले बुधबार वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशु चौपाया तत्काल व्यवस्थापन गर्न परमादेश जारी गरेको थियो । नगरपालिकाले बिहीबारसम्म सडकमा छाडिएका पशु चौपाया लैजान सार्वजनिक अपिल गरेको थियो ।
नगरपालिका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले कोही सम्पर्कमा नआएपछि शुक्रबार १०० पशु चौपाया हुम्लाको खार्पुनाथ गाउँपालिकातर्फ पठाएको जानकारी दिए । त्यहाँको कृषि फर्मले गाई तथा गोरु उपलब्ध गराइदिन नगरपालिकासँग लिखित अनुरोध गरेपछि पठाइएको उनको भनाइ छ । उपशाखा प्रमुख गिरीले बाँकी चौपाया क्रमशः मागका आधारमा पठाउने गरी समन्वय भइरहेको बताईन् ।
वीरेन्द्रनगरका सडकमा करीब ५०० छाडा पशु चौपाया रहेको तथ्याङ्क छ । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारीसाधनलाई आउजाउमा समस्या हुने गरेको छ । कानूनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।