आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ ।
सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले शुक्रबार सुकुटेमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ ।
राजधानीबाट नजिकको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले चासो दिएको हो ।
कार्यक्रममा नवनिर्वाचित सांसद माधव सापकोटाले सुकुटे क्षेत्रलाई व्यवस्थितसँगै पर्यटकको चाहनाअनुसार सुविधासहितको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे बजारले पर्यटकीय र धार्मिक महत्व बोकेको उल्लेख गरे । अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्नसके त्यसले ऐतिहासिक महत्वलाई जिवित राख्न मद्दत पुग्ने उनको भनाइ थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताए । सुकुटे बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उनले बताए ।

बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले लगानी र सुरक्षाको वातावरण स्थानीय सरकाले बनाउने हुँदा व्यवसायीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । पर्यटन एवं होटल व्यवसायी नारायण श्रेष्ठले सो क्षेत्रका पर्यटन प्रवर्द्धनको चुनौती र सम्भावनाबारे धारणा राखे ।
सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले तीन वर्ष अगाडि आयोजना गरिएको सुकुटे महोत्सवबाट पारित १० बुँदे घोषणा कोरोनाका कारण कार्यान्वयनमा समस्या परेकाले आवश्यकता अनुसार ती घोषणालाई कार्यान्वयनमा लानुपर्ने छलफलको निष्कर्ष छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।