काठमाडौँ, जेठ ४ गते, खानेकुरा नबिग्रियोस् भनेर हामी फ्रिजमा राखिदिन्छौ । गर्मीको मौसममा चाँडै खानेकुरा बिग्रिन्छ । फलफूल र तरकारीलाई ताजा राख्न पनि हामी फ्रिजको प्रयोग गर्छौ । तर विज्ञहरूले केहीफलफूललाई फ्रिजमा नराख्न सुझाव दिँदै आएका छन् । यस्तो गर्दा ती फलफूलको स्वाद त बिग्रन्छ नै पोषक तत्त्व पनि घट्न सक्छ ।
- भुँइकटहर
भुँइकटहरलाई फ्रिजमा राख्दा यसको बनावट र स्वाद बिग्रन्छ । चिसोले भुँइकटहरलाई धेरै नरम बनाइदिन्छ र प्राकृतिक स्वाद परिवर्तन गर्दछ । कोठाकै तापक्रममा यसलाई राख्दा बरु ताजापन कायम राख्न मद्दत मिल्छ ।
- केरा
केरालाई कहिल्यै पनि फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा यसको बोक्रा कालो हुन थाल्छ र स्वादमा परिवर्तन आउन थाल्छ । केरा तातो हावापानीमा फल्छ । केरालाई चिसो तापक्रममा राखियो भने पाक्न मद्दत गर्ने इन्जाइमले काम गर्न छोड्छ । चिसोले केराका कोशिकाहरूलाई क्षति पुर्याउँछ ।
- खरबुजा
खरबुजामा पर्याप्त मात्रामा पानी पाइन्छ । गर्मीको बेलामा यसलाई चिसो बनाउन भनेर फ्रिजमा राख्छौँ । तर, खरबूजालाई पनि फ्रिजमा राख्नु हुँदैन । यसो गर्नाले यसमा पाइने एन्टि अक्सिडेन्ट कम हुने र यसको पौष्टिकता पनि कम हुने विज्ञहरूको विश्वास छ ।
- आँप
आँपलाई फलफूलको राजा भनिन्छ । यसलाई पनि फ्रिजमा राख्ने गल्ती गर्नुहुन्न । चिसो तापक्रमले आँपको स्वाद र बनावटमा असर पुर्याउँछ । चिसोका कारण आँपमा कालो धब्बाहरू देखिन्छन् । आँपलाई कोठाको तापक्रममा मात्र भण्डार गर्नुपर्छ । स्वभाविक रूपमा,आँप ७ देखि १४ दिनसम्म खानयोग्य रहन्छ । त्यसैले यसलाई फ्रिजमा राख्नु पर्दैन ।
- मेवा
गर्मीमा मेवाको खपत पनि निकै धेरै हुन्छ । धेरैले मेवा छिट्टै नबिग्रियोस् भनेर यसलाई फ्रिजमा राख्छन् । तर, मेवालाई फ्रिजमा राख्दा यसको स्वाद र बनावटमा परिवर्तन आउन सक्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।