काठमाडौ, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता टुङ्ग्याउने भन्ने छ । अब रुजु गर्ने र प्रोसेसिङको काम बाँकी छ । २ दिन जति प्रोसेसिङका लागि लाग्छ । यो काम टुङ्गिएपछि मात्रै सिस्टममा इन्टी गर्ने हो । त्यो बेलासम्म सबै कोडिङ हुन्छ । करिब करिब ३ दिनको हाराहारीमा सबै टुङ्गो लगाउँछौँ,पौडेलले भने,बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयले ‘लेटर ग्रेडिङ निर्देशिका,२०७८’ जारी गरेको थियो । उक्त निर्देशिका अनुसार यो पटकको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।