आजकल धेरै मानिसहरूको दैनिक जीवनशैली अत्यन्तै निष्क्रिय बन्दै गएको छ । विशेषगरी ३५ देखि ५० वर्ष उमेर समूहका धेरै व्यक्तिहरू बिहान उठ्नेबित्तिकै मोबाइल फोन समात्ने,सामाजिक सञ्जालका भिडियो हेर्ने, लामो समयसम्म बसिरहने, शारीरिक श्रम नगर्ने तथा अस्वस्थकर खानपान गर्ने बानीतर्फ आकर्षित भएका छन् । यस्ता बानीहरूले दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याइरहेका छन् ।
बिहान उठ्नेबित्तिकै व्यायाम,योग,ध्यान वा हिँडडुल नगरी मोबाइल, टिकटक फेसबुक तथा अन्य सामाजिक सञ्जालमा समय बिताउने प्रवृत्ति बढेको छ। यसले मानसिक तथा शारीरिक दुवै स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । शरीरलाई आवश्यक पर्ने सक्रियता नहुँदा मांसपेशी कमजोर हुँदै जान्छन् र तौल बढ्न थाल्छ ।
त्यसैगरी घरपरिवारका कामकाजमा सहयोग नगर्ने,सानो दूरीमा पनि मोटरसाइकल,स्कुटर वा गाडी प्रयोग गर्ने,पैदल हिँड्न रुचि नदेखाउने बानीले शरीरको ऊर्जा खर्च कम हुन्छ। दिनभरि साथीभाइको जमघटमा बसेर चिया,कफी तथा विभिन्न पेय पदार्थको अत्यधिक सेवन गर्ने चलन पनि बढ्दै गएको छ। विशेष गरी धेरै कफी सेवन गर्दा निद्रामा समस्या आउन सक्छ,जसले शरीरको प्राकृतिक विश्राम प्रक्रियालाई असर गर्छ ।
खानपानको दृष्टिले पनि समस्या गम्भीर छ। घरको सन्तुलित खाना भन्दा बाहिरका मोमो,चाउमिन,फास्टफुड,तारेका तथा धेरै तेलयुक्त खानेकुरा सेवन गर्ने बानीले शरीरमा बोसो बढाउँछ। फलस्वरूप पेट बढ्ने,मोटोपन हुने तथा शरीरमा अतिरिक्त चर्बी जम्मा हुने समस्या देखिन्छ ।
यस्ता अस्वस्थ जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल वृद्धि, ट्राइग्लिसराइड बढ्ने, मुटुरोग, कलेजोसम्बन्धी रोग तथा अन्य नसर्ने रोगहरूको जोखिम बढिरहेको छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा यस्ता रोगका बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ ।
स्वस्थ जीवनका लागि बिहान चाँडै उठ्ने, नियमित व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, सन्तुलित आहार खाने, पर्याप्त पानी पिउने, सामाजिक सञ्जालको प्रयोग सीमित गर्ने र पर्याप्त निद्रा लिने बानी विकास गर्न आवश्यक छ। साथै दैनिक कम्तीमा ३० मिनेट हिँड्ने वा कुनै न कुनै शारीरिक गतिविधिमा संलग्न हुने हो भने धेरै रोगहरूबाट बच्न सकिन्छ ।
आधुनिक सुविधाहरूको उपयोग आवश्यक भए पनि स्वास्थ्यलाई बेवास्ता गर्नु हुँदैन । स्वस्थ शरीर नै सुखी जीवनको आधार हो। त्यसैले प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली सुधार गरी नियमित व्यायाम, सन्तुलित खानपान र सकारात्मक सोचलाई अपनाउनुपर्छ। यसले व्यक्ति, परिवार र समाज सबैलाई स्वस्थ र समृद्ध बनाउन सहयोग पुर्याउँछ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।