काठमाडौँ, नेपाल–चीन जोड्ने रसुवागढी नाका हुँदै तिब्बतस्थित पवित्र कैलाश मानसरोवरको भ्रमण गर्ने धार्मिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ। अध्यागमन कार्यालय रसुवागढीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा यस नाकामार्फत १३ हजार ५२३ जना तीर्थयात्री कैलाश मानसरोवर पुगेका छन् ।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ३८७ जना पर्यटकले रसुवागढी नाका प्रयोग गरी कैलाश मानसरोवरको यात्रा गरेका थिए ।
हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीका लागि विशेष धार्मिक महत्व बोकेको कैलाश मानसरोवर पुग्न हुम्लाको हिल्सा नाकाभन्दा रसुवागढी मार्ग तुलनात्मक रूपमा सहज र कम खर्चिलो भएकाले पछिल्ला वर्षहरूमा यही नाकाको प्रयोग बढ्दै गएको छ ।

अध्यागमन कार्यालयका प्रमुख यादव भण्डारीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केही समय नाका प्रभावित भएको थियो। चीनतर्फबाट बेलिब्रिज निर्माण भएपछि पुस महिनादेखि पुनः आवागमन सञ्चालनमा आएको हो। गत आर्थिक वर्षमा नाका करिब सात महिना मात्र सञ्चालनमा रहे पनि यात्रुको संख्या अघिल्लो वर्षभन्दा उल्लेख्य रूपमा बढेको उनले बताए ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ५३ हजार ७४२ जनाले रसुवागढी नाका प्रयोग गरी नेपाल–चीन आवतजावत गरेका छन्। यस अवधिमा २७ हजार २९३ जना नेपाल भित्रिएका भने २६ हजार ४४९ जना नेपालबाट चीनतर्फ गएका छन् ।

पछिल्ला दुई आर्थिक वर्षको तुलना गर्दा रसुवागढी नाका प्रयोग गर्ने यात्रुको संख्या २०.७४ प्रतिशतले वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यो नाका प्रयोग गर्ने यात्रुको संख्या ४४ हजार ५०९ थियो ।

देशगत विवरणअनुसार रसुवागढी नाका प्रयोग गर्नेमा भारतीय नागरिक सबैभन्दा बढी रहेका छन् । गत आर्थिक वर्षमा २४ हजार २७८ भारतीय, १० हजार २५७ नेपाली, ६ हजार २७ चिनियाँ, ४ हजार २१४ अमेरिकी, १ हजार ५३४ अष्ट्रेलियाली, ९१७ रुसी, ९११ मलेसियाली, ८८४ भुटानी, ८१० बेलायती तथा ४२० क्यानेडियन नागरिकले यो नाका प्रयोग गरेका छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।