काठमाडौँ, विघ्नहर्ता तथा अग्रपूजाका देवता भगवान् गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको धार्मिक मान्यता अनुसार आज गणेश चतुर्थी मनाइँदैछ। यस अवसरमा अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायतका मन्दिरमा विशेष पूजा तथा आराधना भइरहेको छ ।
धार्मिक मान्यताअनुसार शिव–पार्वतीका पुत्र गणेशलाई सबै धार्मिक तथा शुभ कार्यमा पहिलो पूजा गर्ने अधिकार प्राप्त छ। सुख, शान्ति र समृद्धिका साथै जीवनमा आउने बाधा–अड्चन हट्ने विश्वासका साथ भक्तजनले आज गणेशको पूजा गर्ने गर्छन् ।
धर्मशास्त्रविद्हरूका अनुसार भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बसेका महिलाले चतुर्थीका दिन गणेशको पूजा गरी आफ्नो जीवनमा कुनै विघ्न नआओस् भन्ने कामना गर्ने परम्परा छ ।
आजको दिनलाई मङ्गल चतुर्थी पनि भनिन्छ। नेवार समुदायले यसलाई ‘चथा’ पर्वका रूपमा मनाउने गर्छ। यस अवसरमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परासमेत रहेको छ ।
गणेश चतुर्थीको अवसरमा देशभरका विभिन्न मन्दिरमा पूजा, प्रवचन तथा अन्य धार्मिक कार्यक्रम आयोजना भइरहेका छन् । राष्ट्रिय धर्मसभा नेपालले पनि विसं २०६५ देखि गणेश चतुर्थीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ ।
सभाका अनुसार यस वर्ष गणेश रथयात्रासमेत आजै आयोजना हुँदैछ । सामान्यतया भाद्र शुक्ल पञ्चमीका दिन गरिँदै आएको रथयात्रा यस वर्ष तिथिको विशेष संयोगका कारण चतुर्थीकै दिन परेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।