काठमाडौं, नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका परीक्षार्थीको नतिजा कमजोर देखिएको छ ।
काउन्सिलले साउन ७ र ८ गते सञ्चालन गरेको परीक्षामा नेपाल तथा विभिन्न देशका शैक्षिक संस्थाबाट अध्ययन गरेका १ हजार १३ जना सहभागी भएका थिए । जसमध्ये ९४७ जना उत्तीर्ण हुँदा ६५ जना अनुत्तीर्ण भएका छन् । नेपालमा अध्ययन गरेका ९१९ परीक्षार्थीमध्ये १५ जना मात्रै फेल भएका छन् ।
विदेशतर्फ भने देशअनुसारको नतिजामा ठूलो अन्तर देखिएको छ । भारतबाट सहभागी १७ जनामध्ये १३ जना उत्तीर्ण भएका छन् । तर चीनबाट सहभागी ३७ जनामध्ये ८ जना मात्रै उत्तीर्ण भएका छन् भने २८ जना फेल भएका छन् ।
इजिप्टबाट सहभागी १९ जनामध्ये ८ जना, किर्गिस्तानबाट ५ जनामध्ये २ जना र फिलिपिन्सबाट ५ जनामध्ये २ जना उत्तीर्ण भएका छन् ।
पाकिस्तानबाट सहभागी सबै ९ जना उत्तीर्ण भएका छन् । अमेरिकाबाट सहभागी १ जना र बेलारुसबाट सहभागी १ जना भने अनुत्तीर्ण भएका छन् ।
नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेपछि मात्रै चिकित्सकीय अभ्यास गर्न पाइन्छ। काउन्सिलले वर्षमा दुई पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ ।
‘नतिजाका आधारमा देशको गुणस्तर भन्न मिल्दैन’
काउन्सिलका निमित्त रजिस्ट्रार डा.दिपेन्द्र पाण्डेले परीक्षाको नतिजाका आधारमा नेपालमा पढेका चिकित्सक राम्रो र विदेशमा पढेका कमजोर भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताएका छन् ।
उनले यो नतिजा कुनै देश वा शैक्षिक संस्थाको गुणस्तर मूल्यांकन गर्न नभई परीक्षाको परिणाम सार्वजनिक गर्ने उद्देश्यले मात्रै प्रकाशित गरिएको स्पष्ट पारे ।
‘यो एउटा परीक्षाको नतिजा मात्रै हो। यसैका आधारमा नेपालको पढाइ राम्रो वा विदेशको पढाइ कमजोर भन्न मिल्दैन,’ पाण्डेले भने ।
उनका अनुसार नतिजा चिकित्सा शिक्षा आयोगलाई समेत पठाइनेछ । यसको विस्तृत विश्लेषण गरी चिकित्सा शिक्षाको गुणस्तर र आवश्यक नीतिगत निर्णयबारे निष्कर्ष निकाल्ने जिम्मेवारी आयोगको हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।