काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ बाटो खुल्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले नयाँ सरकार बनेदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानलाई पुनर्जीवित गर्न सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिइएको बताए ।
उनका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ ।
बन्द हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको सहकार्यमा परीक्षण उत्पादन सुरु भएको तथा नेपाल वायुसेवा निगमको गत आर्थिक वर्षको चैतदेखि असारसम्मको आम्दानी ६ अर्ब २७ करोड रुपैयाँ पुगेको उनले बताए ।
त्यस्तै, दुग्ध विकास संस्थान (डीडीसी) को किसान भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको, दैनिक बिक्री ३५ प्रतिशतले बढेको र दैनिक राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको उनको दाबी छ ।
सिंहदरबार वैद्यखानाको औषधि कारोबार पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणाले बढेर करिब १३ करोड रुपैयाँ पुगेको शाहले बताए ।
प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।