सरकारी कार्यालयमा सेवा लिन पेस गरिने निवेदनको ढाँचामा अब देशभर एकरूपता कायम हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन,२०८३’ स्वीकृत गरी सबै सरकारी निकायलाई प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
मार्गदर्शन लागू भएपछि सेवाग्राहीले कार्यालयपिच्छे फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । यसले सार्वजनिक सेवा प्रवाहलाई सरल,सहज, प्रभावकारी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ ।
त्यस्तै,निवेदनका ढाँचालाई डिजिटल माध्यमबाट समेत प्रयोग गर्न मिल्ने बनाइने भएकाले भविष्यमा सरकारी सेवा अनलाइन तथा मोबाइल एपमार्फत लिन थप सहज हुने अपेक्षा गरिएको छ ।
मार्गदर्शनले कार्यालय परिसरमा सेवाग्राहीको निवेदन तयार गरिदिएबापत रकम लिने अनधिकृत सेवा सहजीकरण तथा बिचौलिया प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने सरकारको भनाइ छ ।
मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित सरकारी कार्यालयका प्रमुखलाई तोकिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।