काठमाडौँ, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथि भएको भनिएको कारबाहीलाई लिएर नेपाल पत्रकार महासंघले सरकारविरुद्ध कडा आपत्ति जनाएको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेकी छन् ।
श्रेष्ठको बिनाशर्त रिहाइ तथा जफत गरिएका सञ्चार सामग्री फिर्ता गर्नुपर्ने माग गर्दै बिहीबार आयोजित विरोध कार्यक्रममा अध्यक्ष शर्माले सञ्चारमाध्यममाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत भएको आरोप लगाइन् ।
उनले समाचारको स्रोत खोज्ने नाममा पत्रकार तथा सञ्चारगृहमाथि प्रहरी प्रशासन प्रयोग गर्नु गम्भीर विषय भएको बताइन् । जनआस्थाको कार्यालयमा पुगेर कम्प्युटर, सीपीयू तथा पत्रकारका सञ्चार उपकरण नियन्त्रणमा लिइएको भन्दै उनले यस्तो कार्यलाई गैरकानुनी प्रयासका रूपमा व्याख्या गरिन् ।
‘समाचार चित्त बुझेन भने कानुनी बाटो छ’
अध्यक्ष शर्माका अनुसार कुनै समाचारप्रति असन्तुष्टि भए त्यसको निरूपणका लागि प्रेस काउन्सिल नेपाललगायत कानुनी संयन्त्र प्रयोग गर्न सकिन्छ । तर त्यसको सट्टा प्रहरी परिचालन गरेर सञ्चारगृहमाथि दबाब सिर्जना गर्नु स्वीकार्य नहुने महासंघको भनाइ छ ।
समाचारको स्रोतको गोपनीयता पत्रकारिताको आधारभूत मान्यता भएको उल्लेख गर्दै शर्माले राज्यका निकायबाटै स्रोत पत्ता लगाउने प्रयास हुनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको दाबी गरिन् ।
उनले सरकारको कदमलाई संविधान र लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा रहिरहने नैतिक तथा कानुनी आधार नरहेको जिकिर गरिन् ।
आन्दोलनको चेतावनी
सञ्चारकर्मी र सञ्चारगृहमाथिको हस्तक्षेप नरोकिए देशव्यापी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ ।
महासंघले घटनाविरुद्ध कानुनी प्रक्रियादेखि सडक संघर्षसम्मका कार्यक्रम अघि बढाउने जनाएको छ । सञ्चारमाध्यमलाई दबाबमा राख्ने तथा पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्ने प्रयास स्वीकार्य नहुने उसको भनाइ छ ।
यसअघि पनि किशोर श्रेष्ठलाई लक्षित गरी राज्यशक्तिको दुरुपयोग, निगरानी र धम्कीको प्रयास भएको भन्दै विभिन्न पत्रकार संगठनले आपत्ति जनाएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।