काठमाडौँ, निर्वाचन आयोगले मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन परिवारका सदस्य तथा सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै मृतकको नाम समयमै हटाउन आग्रह गरेका हुन् ।
मृत्यु भएका मतदाताको नाम हटाउन मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराउन सकिने आयोगले जनाएको छ । यस्तो सूचना परिवारका सदस्य वा अन्य व्यक्तिले पनि दिन सक्नेछन् ।
आयोगले मतदाता नामावलीलाई नियमित रूपमा अद्यावधिक गर्दै आएको छ । नामावली शुद्ध र विश्वसनीय राख्नु निर्वाचनको निष्पक्षताका लागि महत्वपूर्ण हुने आयोगको भनाइ छ ।
अघिल्लो निर्वाचनपछि गत चैत २२ गतेदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिकको काम निरन्तर भइरहेको छ ।
राष्ट्रिय परिचयपत्र भएका नागरिकले अनलाइनबाटै मतदाता नाम दर्ता गर्न सक्ने व्यवस्था छ । परिचयपत्र नभएका नागरिकले भने अनलाइन फारम भरेपछि फोटो र औँठाछापसहितको विवरण दिन निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
मतदाता नामावलीमा नाम, थर वा ठेगाना सच्याउन पनि अनलाइनबाट आवेदन दिन सकिन्छ । एउटै वडाभित्र मतदानस्थल परिवर्तन गर्न र दोहोरो नाम हटाउन पनि यही प्रक्रियाबाट निवेदन दिन सकिने आयोगले जनाएको छ ।
आयोगले मतदाता नामावली अद्यावधिक राख्न सम्बन्धित सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।