काठमाडौँ, पूर्वाधारमन्त्री सुनील लम्साल बिरामी भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको विषय संसद्मा चर्किएको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदबीच मन्त्रीको उपचारका लागि हेलिकप्टर प्रयोग गर्नु उचित कि अनुचित भन्ने विषयमा जुहारी चलेको हो ।
कांग्रेस सचेतक बासना थापाले मन्त्रीलाई हेलिकप्टरमा काठमाडौं ल्याउन लाखौँ खर्च गर्ने सरकारले सामान्य नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र यातायातसमेत उपलब्ध गराउन नसकेको भन्दै प्रश्न उठाइन् ।
उनले भनिन्, “मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि एम्बुलेन्स नपुग्ने, के यही समानता हो ?”
रास्वपा सांसद भरतप्रसाद पराजुलीले भने मन्त्री लम्सालको बचाउ गरे। देशका दुर्गम क्षेत्रमा पूर्वाधारको अवस्था बुझ्न आफैँ गाडी चलाएर पुगेका मन्त्री बिरामी भएपछि हेलिकप्टर प्रयोग गर्नु स्वाभाविक भएको उनको तर्क थियो ।
लम्साल सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक तथा पूर्वाधारको निरीक्षणका क्रममा बैतडी पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकप्टरबाट धनगढी र त्यहाँबाट सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
यसअघि सोमबार रास्वपाकै सांसद पारसमणि गेलालले पनि मन्त्रीहरूलाई अनावश्यक भ्रमण नगरी मन्त्रालयमै बसेर काम गर्न सुझाव दिएका थिए । उनले “मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुने तर जनता अस्पताल पुग्नसमेत नसक्ने अवस्था” प्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
मन्त्रीको हेलिकप्टर प्रयोगको विषय मंगलबार पनि संसद्मा उठेको छ
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।