काठमाडौँ, पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोले राजधानीको जनजीवनमा प्रत्यक्ष असर देखिन थालेको छ । सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्याससहित अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुँदा बिक्री केन्द्रहरूमा उपभोक्ताको भीड बढ्न थालेको छ ।
रसुवामा आएको बाढीका कारण सडक कटान र पहिरोको समस्या बढिरहेका बेला सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा आइतबार पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौँतर्फ आउँदै गरेका ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन बाटोमै रोकिएका छन् । यसको प्रत्यक्ष असर उपत्यकाको ग्यास आपूर्तिमा परेको छ ।
सडकबाट ग्यासका गाडी राजधानी आउन नसकेपछि काठमाडौँका विभिन्न बिक्री केन्द्रमा उपभोक्ताको भीड बढेको छ । अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा मात्रै पाँच दिनदेखि ग्यास लिन सर्वसाधारणको लामो लाइन लागिरहेको छ ।
घण्टौँसम्म लाइनमा बसे पनि ग्यास नपाउने अवस्था रहेको उपभोक्ताको गुनासो छ । ग्यास आउने आशामा खाली सिलिन्डर बोकेर बिक्री केन्द्र पुगेका कतिपय उपभोक्ता लामो समय पर्खिएपछि पनि रित्तै घर फर्किन बाध्य भएका छन् ।
सडक कहिले खुल्छ र ग्यासको नियमित आपूर्ति कहिले सहज हुन्छ भन्ने टुंगो नलाग्दा उपभोक्तामा थप चिन्ता बढेको छ । राजधानीको मुख्य आपूर्ति मार्गमै अवरोध भएपछि यसको असर खाना पकाउने ग्यासमा मात्रै नभई पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा समेत पर्न सक्ने देखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।