प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागि नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोगसम्बन्धि सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको आरोप लगाएका छन् ।
सभापति देउवाले कोरोना भाइरसको महामारीमा सरकारले सबैलाई आफू अभिभावक भएको अनुभूति गराउनु पर्नेमा नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको पनि बताएका छन् ।
सरकार आत्मप्रशंसामा रमाएको बताउँदै देउवाले भने, ‘विगत दुई वर्षमा निकै काम गरेको दावा गरिएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई विगत दुई वर्षका नीति कार्यक्रम पुनः एक पटक पढ्न अनुरोध गर्दछु । सरकार दुई वर्ष पहिलेको नीति कार्यक्रम हेरेर आफै लज्जित बन्नुपर्ने स्थिति छ । त्यो बेला एक वर्षभित्र बनाउछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन । तीन वटा मुख्य राजमार्गको छेऊमा बनाउछु भनेको ७६५ केभी ट्रान्समिसन लाईन, निजगढ एयरपोर्ट निर्माण प्रतिक्षामा छन् । पहिलेका नीति कार्यक्रममा उल्लेख गरिएका सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने जस्ता केही सपना पूरा नभई बिना कुनै स्पष्टिकरण तुहिएका छन् ।’
सभापति देउवाले पछिल्लो समयमा सार्वजनिक भएको यतिकाण्ड हुँदै सेक्युरीटी प्रेस खरिद सम्बन्धि काण्डमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटनापछि सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्नु जग हसाउने विषय भएको जिकिर गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।