मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

४ महिनामा ७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाबमा बागमती सरकार,कुन मन्त्रालयको खर्च कति ?

४ महिनामा ७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाबमा बागमती सरकार,कुन मन्त्रालयको खर्च कति ?

मेगा खबर संवाददाता

३, चैत्र २०८२
  • 493
    SHARES

  • ४ महिनामा ७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाबमा बागमती सरकार,कुन मन्त्रालयको खर्च कति ?

    काठमाडौं,बागमती प्रदेश सरकार चालु आर्थिक वर्ष (२०८२०८३) को बजेट खर्चमा निकै सुस्त देखिएको छ ।

    चालु आर्थिक वर्षको ८ महिना (साउन १ देखि फागुन मसान्त) बितिसक्दा प्रदेश सरकारले कुल बजेटको एक चौथाइ रकम पनि खर्च गर्न सकेको छैन । ८ महिनामा प्रदेश सरकारले वार्षिक कुल बजेटको २२.३१ प्रतिशतमात्र खर्च गरेको छ । आर्थिक वर्षको बाँकी ४ महिनामा सरकारले ७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब सिर्जना भएको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको फागुन मसान्तसम्मको खर्च विवरण अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँमध्ये हालसम्म १५ अर्ब ५ करोड ८ लाख रुपैयाँ (२२.३१ प्रतिशत) मात्र खर्च भएको छ । पुँजीगत खर्चको अवस्था निकै नाजुक देखिएको छ । विकास निर्माणसँग प्रत्यक्ष जोडिने पुँजीगत बजेटतर्फ विनियोजित ४१ अर्ब ४३ करोड ३५ लाख रुपैयाँमध्ये जम्मा ७ अर्ब ९ करोड १८ लाख (१७।१२ प्रतिशत) मात्र खर्च भएको छ । विकासका लागि छुट्ट्याइएको ८३ प्रतिशतभन्दा बढी बजेट अझै खर्च हुन सकेको छैन ।

    प्रदेश सरकारले प्रशासनिक तथा साधारण (चालु) खर्च भने तुलनात्मक रूपमा बढी गरेको छ । चालुतर्फको २६ अर्ब ४ करोड ३७ लाख ९९ हजार बजेटमध्ये ३०.५६ प्रतिशत (७ अर्ब ९५ करोड ९० लाख २५ हजार रुपैयाँ) खर्च भएको हो । आर्थिक वर्षको सुरुवातमा सरकार परिवर्तन,सरकारको पूर्णता लगायतको काममा समय लाग्दा सुरुवातमा विकास तथा बजेट कार्यक्रम कार्यान्वयनमा आउन सकेन । जेनजी आन्दोलनका कारण पनि सरकारको बजेट खर्च प्रत्यक्ष प्रभावित भयो भने जेनजी आन्दोलनमा भएको क्षतिका कारण बजेट कटौती हुँदा योजना तथा कार्यक्रम संशोधन भएको सरकार सम्बद्ध स्रोत बताउँछ ।

    असार मसान्तसम्ममा ठुलो परिमाणमा बजेट सिद्ध्याउनु पर्ने दबाबका कारण अब ‘असारे विकास’ को प्रवृत्ति दोहोरिने निश्चित देखिएको छ । बाँकी ४ महिनामा ८० प्रतिशतको हाराहारीमा बजेट खर्च गर्नु प्राविधिक र व्यावहारिक दुवै दृष्टिले निकै कठिन छ । सरकारले जेठ र असारको अन्तिम समयमा आएर बजेट खन्याउने परिपाटीलाई रोक्न नसक्दा हरेक वर्ष बागमती प्रदेशको खर्च क्षमतामाथि प्रश्न उठ्ने गरेको छ ।

    कुन मन्त्रालयको खर्च कति?
    प्रदेश सरकारका १३ मन्त्रालय तथा मातहतको निकायमध्ये सबैभन्दा बढी श्रम,रोजगार तथा यातायात मन्त्रालयले बजेट खर्च गरेको छ । सो मन्त्रालयले आफ्नो वार्षिक बजेटको ३८.४५ प्रतिशत (२७ करोड ७६ लाख रुपैयाँ) खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयले १ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ (३७.१० प्रतिशत),सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३४.५३ प्रतिशत अर्थात् ७ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ ।

    प्रदेश सरकारले सबैभन्दा बढी बजेट विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले २३.४६ प्रतिशतमात्र बजेट खर्च गरेको छ । पूर्वाधार विकासतर्फको सम्पूर्ण काम गर्दै आएको सो मन्त्रालयले ८ महिनामा ५ अर्ब ५ करोड ३ लाख रुपैयाँ खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १ करोड १८ हजार रुपैयाँ (२५.१७ प्रतिशत)आर्थिक मामिला तथा योजना मन्न्त्रालयले ६ करोड ९१ लाख रुपैयाँ (३३.२४ प्रतिशत)उद्योग,वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालयले १४ करोड ७३ लाख रुपैयाँ (२२.७२ प्रतिशत) बजेट खर्च गरेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३८ करोड ६४ लाख रुपैयाँ (१७.७५ प्रतिशत)खानेपानी,ऊर्जा तथा सिँचाइ मन्त्रालयले १ अर्ब २९ करोड ६ लाख रुपैयाँ (१९.७१ प्रतिशत),आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १७ करोड २७ लाख रुपैयाँ (३३.३९ प्रतिशत),संस्कृति तथा पर्यटन मन्त्रालयले २४ करोड ५६ लाख (७.६३ प्रतिशत)वन तथा वातावरण मन्त्रालयले १ अर्ब ३ करोड ६९ लाख रुपैयाँ (२८.२२ प्रतिशत), युवा तथा खेलकुद मन्त्रालयले १२ करोड १७ लाख (१२.०७ प्रतिशत),सामाजिक विकास मन्त्रालयले ७४ करोड ६६ लाख रुपैयाँ (२०.९० प्रतिशत) खर्च गरेको छ ।

    प्रदेश व्यवस्थापिकाले १० करोड ५६ लाख रुपैयाँ (३७.९२ प्रतिशत), प्रदेश लोक सेवा आयोगले ३ करोड ७९ लाख रुपेयाँ (४३.८५ प्रतिशत),मुख्य न्यायाधिवक्ताको कार्यालयले ९२ लाख रुपैयाँ (३७.१० प्रतिशत) खर्च गरेको छ । प्रदेश नीति तथा योजना आयोगको चालु र पुँजीगत खर्च निकै न्यून छ भने कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा र विविध शीर्षकमा छुट्ट्याइएको ठुलो रकम (४ अर्ब ४२ करोडभन्दा बढी) फागुन मसान्तसम्म खर्च हुन सकेको छैन ।

    मंगलवार, चैत्र ३ २०८२०३:१९:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार